२०८३ बैशाख ५ गते , शनिबार

कोरियाले उत्पादनतर्फ आठ हजार थप कामदार लैजाने

sajilo news
परिवेश मिडिया
२०७९ भाद्र १० गते , शुक्रबार
कोरियाले उत्पादनतर्फ आठ हजार थप कामदार लैजाने

काठमाण्डौ । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरियामा उत्पादन क्षेत्रतर्फ यसअघि तोकिएभन्दा बढी नेपालीले रोजगारी पाउने भएका छन् । 
एचआरडी कोरियाले उत्पादन क्षेत्रतर्फ यसअघि तोकिएभन्दा आठ हजार बढी नेपालीलाई भाषा परीक्षामा उत्तीर्ण गराउने जनाएको छ । उत्पादनतर्फको पहिलो र दोस्रो चरणको भाषा परीक्षाबाट उत्तीर्ण हुनेको संख्यामा आठ हजार थप गरी रोस्टरमा सूचीकृत गर्न एचआरडी कोरियाबाट पत्र प्राप्त भएको वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाले जनाएको छ ।
यसअघि उत्पादन क्षेत्रतर्फ पहिलो चरणको परीक्षाबाट तीन हजार एक सय ३० र दोस्रो चरणको परीक्षाबाट तीन हजार सात सय ८३ गरी कुल छ हजार नौ सय १३ जनालाई उत्तीर्ण गराउने जनाएको थियो ।
उत्पादनतर्फको परीक्षामा उत्तीर्णको संख्या थपिएसँगै पहिलो चरणको परीक्षाबाट छ हजार सात सय ५२ र दोस्रो चरणबाट आठ हजार एक सय ६१ गरी कुल १४ हजार नौ सय १३ जना उत्तीर्ण हुनेछन् । यसपटक उत्पादनतर्फ ३३ हजार नौ सय र कृषितर्फ नौ हजारले फाराम भरेका थिए।
उत्पादनतर्फको पहिलो चरणको परीक्षा गत साउन २ देखि सुरू भएको थियो । दोस्रो चरणको परीक्षा यही भदौ २ गतेदेखि चलिरहेको छ। पहिलो चरणको परीक्षाको नतिजा यही भदौ १७ गते आउने इपिएस कोरिया शाखाले जनाएको छ ।
शाखाका निर्देशक पुष्पराज कटुवालले परीक्षामा उत्तीर्ण हुनेको संख्या बढ्ने भएसँगै रोजगारीका लागि कोरिया जाने युवाको संख्या पनि वृद्धि हुने बताए ।

सम्बन्धित समाचार