कांग्रेस नेता प्रदिप गिरीको स्वास्थ्य अवस्था गम्भीर
काठमाण्डौ । नेपाली कांग्रेसका नेता प्रदिप गिरीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । मेडिसिटी अस्पतालमा उपचाररत नेता गिरीलाई भेटेपछि नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले स्वास्थ्य सुधारमा ईश्वरी चमत्कारका लागि प्रार्थना गरेको र अरुलाई पनि गर्न आग्रह गरेका छन् ।
गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन शुक्रबार मेडिसिटी अस्पताल पुगेका उनले गिरिको अवस्थाले आफू स्तब्ध भएको बताएका हुन् । अस्पतालबाट फर्किँदै गर्दा सामाजिक सञ्जाल ट्वीटरमा निधिले लेखेका छन्, ‘आदरणीय मेरा अग्रज भ्रातातुल्य मित्र, समाजवादी, गान्धीवादी, विचारक, योद्धा, नेपाली काँग्रेसका नेता प्रदीप गिरिलाई मेडिसिटीमा दोस्रोपटक हेरेर बाटोमा फर्कँदै छु । स्तब्ध र निरीह छु । ईश्वरीय चमत्कारको लागि प्रार्थना गर्दछु– सबैले प्रार्थना गरौं ।’
साउन दोस्रो साता भर्ना भएका नेता गिरीको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको छ । स्वास्थ्यमा सुधार नआएपछि उनलाई आईसीयूमा राखेर उपचार जारी राखिएको छ । गत मंगलबार कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पनि गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका थिए । लामो समय भारतमा उपचार गरेर स्वदेश आएका उनी फेरि स्वास्थ्यमा समस्या देखिएपछि मेडिसिटी भर्ना भएका हुन् । घाँटीको क्यान्सरबाट पीडित उनलाई अहिले निमोनिया पनि देखिएको अस्पतालले जनाएको छ ।