बिर्तामोडले बजार क्षेत्रको फुटपाथ खाली गराउने
बिर्तामोड । नगरपालिकाले बिर्तामोड बजार क्षेत्रभित्रका सडक पेटी खाली गराउने भएको छ । शुक्रबार बिर्तामोड नगरपालिकामा बसेको सर्वदलीय बैठकले सडक पेटिमा गरेको व्यवसाय हटाउने निर्णय गरेको हो ।
बैठकले फुटपाथ व्यवसायका कारण पार्किङको समस्या भएको र सडक दुर्घटनाको जोखिम बढेको भन्दै फुटपाथ हटाउने निर्णय गरेको हो ।
बैठकले बजारक्षेत्र भित्र सटर लिएर व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरुले पनि व्यवसाय फुटपाथसम्म विस्तार गरेको पाइएकाले त्यसलाई पनि हटाउने निर्णय गरेको छ । फुटपाथ व्यवसाय हटाउनका लागि नगरपालिकाले ७ दिनको म्याद राखेर सूचना सार्वजनिक गर्ने नगरका प्रवक्ता अग्निप्रसाद पाण्डेले जानकारी दिए ।
सर्वदलीय बैठकले फुटपाथ खाली भए नभएको र स्थानीय वस्तुस्थितीको अध्ययन, अनुगमन, समन्वय तथा सुझावका लागि नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाको संयोजकत्वमा १६ सदस्यीय कार्यदल समेत गठन गरेको छ ।
बिर्तामोडको भद्रपुर रोड, शनिश्चरे रोड, कृषिथोक बजार वरीपरी र बजार क्षेत्रभित्र पर्ने पूर्व पश्चिम राजमार्गको पेटीमा मापदण्ड विपरीत फुटपाथ व्यवसाय सञ्चालन हुँदै आएका कारण बिर्तामोड बजार अस्तव्यस्त बन्दै आएको छ ।
बैठकमा नगरप्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, नेकपा एमाले बिर्तामोड नगरकमिटि अध्यक्ष सुवास भट्टराई, नेकपा माओवादी केन्द्रका बिर्तामोड नगरकमिटि अध्यक्ष मोहन सुव्वा, राप्रपा नगरसमिति उपाध्यक्ष किरण प्रसाद पौड्याल, नेकपा एकिकृत समाजवादीका नगर अध्यक्ष श्रीप्रसाद सिटौला, लोकतान्त्रिक समाजवादी पार्टीका नगरअध्यक्ष लखनलाल राजवंशी, वडा नम्बर १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डे, वडा नम्बर ३का वडाध्यक्ष मदन बुढाथोकी, वडा नम्बर ४का वडाध्यक्ष राहुलकुमार शर्मा, वडा नम्बर ५ का वडाध्यक्ष रोहित प्रसाई, वडा नम्बर ७का वडाध्यक्ष कृष्ण प्रसाद खरेल, बिर्तामोड नगरपालिकाका शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, उद्योग वाणिज्य संघका उपाध्यक्ष संजिव घिमिरे, नैनकला भट्टराई, राधिका चुडाल हुमागाई, उपभोक्ता मञ्चका मदन गोपाल सुव्वा, इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख रुगमबहादुर कुँवर लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको पालिकाका प्रेस संयोजक रमेश तिवारीले जानकारी दिए ।