बाह्रदशीका नागरिकले निःशुल्क रगत पाउने
बिर्तामोड । झापाको बाह्रदशी गाउँपालिकाले पालिकाबासीलाई निशुल्क रगत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटी झापासँग सम्झौता गरेको छ ।
विगत चार वर्षदेखि पालिकावासीलाई निःशुल्क रगत उपलब्ध गराउँदै आएको बाह्रदशी गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा समेत सबै नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने भएको हो । यसका लागि पालिकाले नेपाल रेडक्रस सोसाइटी झापासँग सम्झौता गरेको भएको नेपाल रेडक्रस सोसाइटी झापाका सदस्य तथा प्रदेश १ का कोषाध्यक्ष ओमप्रकाश गौतमले जानकारी दिए । गाउँपालिकाको तर्फबाट पालिका अध्यक्ष देबिन्द्र प्रसाद चम्लागाई र रेडक्रसका तर्फबाट गौतमले हस्ताक्षर गरेको सम्झौता पत्रमा पालिकाले रेडक्रस सोसाइटीलाई पाँच लाख रुपैँया अनुदान स्वरुप उपलब्ध गराउने उल्लेख छ ।
गाउँपालिका भित्र रहेका नागरिक मध्ये कसैलाई रगत आबश्यक परेको खण्डमा नेपाल रेडक्रस सोसाइटी झापाले सञ्चालन गरेका रक्तसञ्चार केन्द्रबाट निःशुल्क रगत उपलब्ध गराइने सम्झौता पत्रमा उल्लेख छ ।
गत वर्षपनि पालिकाले सोही प्रकारको सम्झौता गर्दै गाउँपालिकावासीलाई निःशुल्क रगत उपलब्ध गराउँदै आएको थियो । जसबाट सबैभन्दा धेरै मृगौलाका रोगीले रगत प्रयोग गरेको बताइएको छ । गत वर्ष ३५० परिवारका चार सय जनाभन्दा बढी नागरिकले निःशुल्क रगत लिएको बताइएको छ ।
योसँगै भद्रपुर नगरपालिकाले पनि आफ्ना नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने सम्झौता गरेको छ भने यस अघि झापा गाउँपालिका र मेचीनगर नगरपालिकाले समेत आफ्ना नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउँदै आएको नेपाल रेडक्रस सोसाइटी झापाका सदस्य गौतमले बताउनुभयो ।