नेपाली सेनाद्वारा विद्यालय भवन हस्तान्तरण
बिर्तामोड । नेपाली सेनाले झापा गाउँपालिकामा निर्माण गरेको विद्यालय भवन आइतबार हस्तान्तरण गरेको छ । क्यूआईपी कार्यक्रम अन्र्तगत निर्माण गरेको विद्यालय भवन आइतबार एक कार्यक्रमका बीच नेपाली सेनाले हस्तान्तरण गरेको हो ।
नेपाली सेनाको चारआलीस्थित श्री नयाँ श्रीनाथ गणको संयोजकत्वमा झापा गाउँपालिका–७ मदरगाछमा रहेको जनकल्याण माविमा ३२ लाख १८ हजार आठ सय ५५ रुपैंया ७१ पैसाको लागतमा निर्माण गरिएको भवन आइतबार विद्यालयलाई हस्तान्तरण गरिएको हो । नेपाली सेनाले निर्माण गरेको कक्षाकोठा १, सभाहल १ र शौचालय २ सहितको विद्यालय भवन पूर्वी कमाण्ड हेड्क्वाटरका कमाण्ड सेनापति उपरथी सहदेव खड्काले विद्यालयका प्रधानाध्यापक पदमप्रसाद अधिकारीलाई हस्तान्तरण गरे ।
विगतदेखि नै नेपाली सेना र आमनागरिक बीच रहँदै आएको अन्योन्याश्रित सम्बन्धलाई सुमधुर बनाई नेपाली सेनाको गतिविधीलाई थप प्रभावकारी बनाउन नेपाली सेनाले विभिन्न क्षेत्रमा काम गर्दै आएको छ । नेपाली सेनाले युद्ध बाहेक स्थान विशेषको आवश्यकता अनुरुप वातावरण सुधार तथा संरक्षण, प्रकोप व्यवस्थापन, धार्मिक–सांस्कृतिक क्षेत्रहरु र भौतिक पूर्वाधार निर्माण लगायतका कार्यक्रमहरुलाई विशेष प्राथमिकता दिदैं क्यूआईपी कार्यक्रमहरु संचालन गर्दै आएको जनाएको छ ।
नवनिर्मित भवन हस्तान्तरण कार्यक्रममा झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, श्री नं. २ बाहिनीका बाहिनीपति सहायक रथि प्रकाश देउजा र श्री नं. २१ बाहिनीका बाहिनीपति सहायक रथि कृष्णप्रसाद भण्डारी, शिक्षा विकास तथा समन्वय ईकाई झापाका प्रमुख राजकुमार विक, श्री नयाँ श्रीनाथ गण चारआलीका गणपति फडिन्द्र थापा, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, झापा गाँउपालिका शिक्षा समन्वय ईकाई प्रमुख, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक–शिक्षिका लगायत स्थानियबासीहरुको सहभागिता रहेको थियो ।