भदौ १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो झोला उत्पादनमा रोक
काठमाण्डौ । सरकारले प्लाष्टिकका झोला उत्पादन, बिक्री वितरण तथा प्रयोगमा पुन कडाइ गर्ने भएको छ ।
४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन र प्रयोग बढेपछि भदौ १ देखि फेरि कडाइ गर्न लागिएको हो । यसअघि पनि वन तथा वातावरण विभागले प्लाष्टिक झोला उत्पादन, बिक्री वितरण तथा प्रयोगमा कडाइ गरेको थियो ।
तर कोरोनाका बेला अनुगमन फितलो हुँदा फेरि प्लाष्टिक झोला उत्पादन र प्रयोग वृद्धि हुँदै गएको पाइएको विभागको भनाइ छ ।
सरकारले २०७८ असोज १९ मै राजपत्रमा सूचना निकालेर ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन तथा प्रयोग गर्न प्रतिबन्ध लगाएको थियो ।
यस्तै ०७८ माघ १७ को मन्त्रिपरिषद निर्णयले प्लाष्टिक झोला प्रतिबन्धसम्बन्धीको नेपाल सरकारको निर्णय कार्यान्वयन गर्न कार्ययोजना नै स्वीकृत गरेको थियो । ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक प्रयोगले वातावरणमा प्रतिकूल प्रभाव पार्ने, खोला तथा नदीहरू प्रदूषित भएको, ढल तथा पानीका निकासका पाइपमा जम्मा हुन गई ढल निकासमा बाधा पुगेको पनि विभागले बताएको छ ।