झापामा भेटिए स्क्रब टाइफसका बिरामी, हेलचेक्रयाँइ नगर्न डाक्टरको सुझाव
दमक । झापाको दमक–१० की इच्छा खत्री ज्वरो आउने, शरीर अत्यधिक दुख्ने भएपछि केहि दिनअघि दमक अस्पताल उपचारका लागि आइन् । हातमा सानो केही किराले टोकेजस्तो घाउ पनि थियो । डा. अनुपम घिमिरेले उनको परीक्षण गरे । परीक्षणको क्रममा उनलाई स्क्रब टाइफस देखियो । ‘ज्वरो धेरै आएको थियो । ढाड र जिउ पनि थामिनसक्नु दुखेपछि अस्पताल आएँ । अस्पतालमा डाक्टरसाबले स्क्रब टाइफस र डेंगु दुवै भएको भन्नुभएको छ । अहिले अस्पतालकै बेडमा छु,’ खत्रीले भनिन्, ‘यो किराको टोकाइबाट हुँदोरहेछ । ओसिलो ठाउँमा बस्छ भनेर डाक्टरसाबले भन्नुभएको छ । म नयाँ ठाउँमा घाँस काट्न गएको थिएँ । त्यहीँ टोक्यो होला ।’ उनी चार दिनदेखि अस्पतालको बेडमा बसेर उपचार गराइरहेकी छिन् । अझै केही दिन अस्पतालमा बसेरै उपचार गराउनुपर्ने डाक्टरले भनेको उनी बताउँछिन् । अहिले उनको स्वास्थ्यमा क्रमशः सुधार आइरहेको छ ।
पछिल्लो समय झापामा स्क्रब टाइफसका बिरामी देखापर्न थालेका छन् । दमक अस्पतालमा उपचार गराउन आउने केही बिरामीमा स्क्रब टाइफसको जस्तो लक्षण देखिएको छ । पछिल्ला केही दिनमा दमक अस्पतालमा उपचार गराउन आएका दुईजनामा स्क्रब टाइफस पुष्टि भएको दमक अस्पतालका फेमिली फिजिसियन डा। अनुपम घिमिरेले जानकारी दिए । एकजना अहिले पनि अस्पतालको शय्यामा उपचार गराइरहेकी छिन् भने एकजना डिस्चार्ज भइसकेको डाक्टर घिमिरेले बताए । ‘दुईजनामा पुष्टि भएको छ । अरू पनि मिल्दोजुल्दो लक्षण भएका बिरामी आइरहेका छन् । तर, तीन दिन नपुगी त हामीले स्क्रब टाइफसको परीक्षण गर्न मिल्दैन,’ घिमिरेले नयाँ पत्रिकासँग भने, ‘ओपिडीमा पनि दैनिक ज्वरोका बिरामी आइरहेका छन् । कम्तीमा तीन दिन नभई यसको परीक्षण गर्दैनौँ । केहीको शरीरमा टोकेको ठाउँमा घाउजस्तो पनि हुन्छ । सबैकोमा घाउजस्तो हुन्छ भन्ने हैन ।’
डा. घिमिरेका अनुसार स्क्रब टाइफस भएमा १०४ डिग्री फरेनहाइटसम्म ज्वरो आउने, जिउ तथा टाउको चार–पाँच दिनसम्म साह्रै दुख्नेलगायतका लक्षण हुने घिमिरेले बताए । ‘स्क्रब टाइफस एक किसिमको सरुवारोग पनि हो । यो मुसामा लाग्ने किर्नाजस्तो देखिने किरा (माइट) को टोकाइबाट मानिसमा सर्दछ । तर, मानिसबाट मानिसमा सर्दैन,’ डाक्टर घिमिरेले भने, ‘यो धेरैजस्तो बर्खामा, यही महिनामा देखिन्छ ।’ घिमिरेका अनुसार स्क्रब टाइफस सुसुगामुसी भन्ने जीवाणुबाट लाग्ने उनले बताए । यो जीवाणु किर्नाजस्तो देखिने किराले बोकेको हुन्छ । जुन किरा मुसामा पाइने उनी बताउँछन् ।
स्क्रब टाइफसले समयमा उपचार नगरी हेलचेक्य्राइँ गरे मानिसको ज्यान पनि जान सक्ने भएका कारण ज्वरो आउने र शरीर दुख्ने भएमा वेलैमा अस्पताल जान पनि डा. घिमिरेको सुझाव छ । ‘ज्वरो आयो भने, शरीर दुख्यो भने वेलैमा अस्पताल जानुपर्छ । समयमा उपचार गर्न सकिएन भने मानिसको ज्यान पनि जान सक्छ,’ उनले भने, ‘कीटाणुले टोकेपछि स्क्रब रगतमा गएर छोटो समयमा निमोनिया हुने, किड्नी इन्जयुरी हुने हुन्छ । समयमा उपचार गरेन भने अवस्था गम्भीर हुन सक्छ ।’
यसरी बच्न सकिन्छ
डा. घिमिरेका अनुसार यो मुसामा लाग्ने किर्नाजस्तो किरा हो । तसर्थ मुसा आउने ठाउँ रोक्नुपर्ने उनी बताउँछन् । यो ओसिलो ठाउँमा पाइने किरा भएका कारण जंगल जाँदा ध्यान दिनुपर्ने उनको भनाइ छ । यस्तै, लामो लुगा लगाउने, घर छेउको झाँडी फाड्ने, भुइँमा बस्दा केही ओछ्याएर बस्नुपर्ने डा। घिमिरेको सुझाव छ । यस्तै, यो किरा पुराना काठमा बस्ने भएका कारण पुराना काठ भएको ठाउँमा जाँदा ध्यान दिन उनको सुझाव छ ।