शैक्षिक गुणस्तरमा 'त्रिकोणात्मक भूमिका' जिम्मेवार
बिर्तामोड । विद्यालयको शैक्षिक गुणस्तरमा त्रिकोणात्मक भूमिका जिम्मेवार रहने सरोकारवाला अधिकारीको भनाई छ । विद्यार्थी, अभिभावक र शिक्षकको सकारात्मक भूमिकाले शैक्षिक गुणस्तर सुधार गर्न सकिने शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख राजकुमार विकले बताएका हुन ।
उनले विद्यालयको समग्र विकासका लागि विद्यार्थी, अभिभावक र शिक्षकबिच राम्रो सम्बन्ध हुनु पर्नेमा जोड दिए । परिवेश मिडियासँगको कुराकानीमा इकाई प्रमुख विकले पछिल्लो समय सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर राम्रो बन्दै गएको बताए । विद्यार्थीको सिक्ने क्षमतामा पारिवारिक वातावरणको समेत उत्तिकै भूमिका हुने उनको भनाई छ ।
पाठ्यपुस्तकको ज्ञान मात्र सिकाई नभएको बताउँदै बानीको विकास र जिवनोपयोगी सिपपनि सिकाउनु पर्ने विक बताउँछन । 'किताब पढाउनु मात्र सिकाउनु होइन,' उनले भने,'बोल्न, हिड्न सिकाउनुपनि ज्ञान हो जसले दीर्घकालसम्म महत्व राख्दछ ।' विद्यार्थीको सिकाईमा शिक्षकले पूरा तागत लगाउनु पर्ने उनी बताउँछन । 'गृहकार्य दिनका लागि दिने होइन,'थप सिकाउनको लागि गृहकार्य दिनु पर्दछ ।'
तुलानात्मक रुपमा ग्रामिण क्षेत्रका विद्यालयहरुको शैक्षिक स्तर कमजोर रहेको भन्ने जिज्ञासामा विकले त्यस्तो हुन सक्ने बताए । उनले ती क्षेत्रहरुमा स्रोतको कमी हुनुका साथै अनुगमन कम हुने भएकाले पनि त्यस्तो भएको हुनसक्ने बताए । पालिकामा जनशक्ति कमि हुनुका साथै भएका जनशक्तिपनि प्रशासनिक कार्यमा ब्यस्त हुनुपर्ने भएकाले पर्याप्त मात्रामा अनुगमन गर्न नसकिएको इकाई प्रमुख विक बताउँछन ।
स्रोत साधनको उचित ब्यवस्थापन भएकै कारण कतिपय विद्यालयहरु नमूना बन्न सकेको विकको भनाई छ । उनका अनुसार अन्य कर्मचारीको तुलानामा सेवा सुविधा कम हुने भएकाले शिक्षकहरुमा नैराश्यता आउने गरेको छ । शैक्षिक गुणस्तर सुधार गर्न प्रभावकारी रुपमा मूल्यांकन गरि दण्ड र पुरस्कारको ब्यवस्था गरिनुपर्नेमा विकको जोड छ ।