नेप्सेमा ५४.४५ अंकको वृद्धि
काठमाण्डौ । चालु आर्थिक वर्षको मौद्रिक नीति आएपछिको दुई कारोबार दिन सेयर बजारमा उछाल देखिएको छ।
सोमबार सेयर बजार परिसूचक (नेप्से) ५४.४५ अंकले बढेको छ। २०८२ बिन्दुबाट सुरु भएको नेप्से परिसूचक २१३३ बिन्दुमा पुगेर रोकिएको हो।
आज १७६ कम्पनी फाइदामा गएका छन्। एउटा कम्पनीको सेयर मूल्य घटेको छ भने तीनवटा कम्पनीको मूल्य स्थिर रह्यो।
सोमबार कारोबार रकम उल्लेख्य रूपमा बढेको छ। आज २१४ कम्पनीको ९९ लाख ४४ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब १० करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यसअघि कारोबार रकम दुई अर्ब हाराहारीमा सीमित थियो।
आज १८ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबै उपसमूहको सूचकमा हरियाली छायो।
कारोबार रकमका हिसाबले आज पनि शिवम् सिम]न्ट अग्रस्थानमा रह्यो। सोमबार शिवम्को १५ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। दोस्रो नम्बरमा रहेको अरुण काबेली पावरको १४ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।