सबै भन्दा बढी प्रदेश १ मा ८९.८१ प्रतिशत विकास बजेट खर्च
बिर्तामोड । बजेट खर्चमा सात प्रदेश सरकारमध्ये प्रदेश १ अगाडि देखिएको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट खर्चका आधारमा प्रदेश १ सबैभन्दा अगाडि र कर्णाली अन्तिममा छ ।
प्रदेश १ ले आर्थिक वर्ष २०७८/०७९ मा ८९.८१ प्रतिशत विकास बजेट खर्च गर्न सफल भएको छ । ३४ अर्ब ७६ करोड ८५ लाख रुपैयाँको बजेट ल्याएको प्रदेश १ को लेखा नियन्त्रकको कार्यालयले असार २५ सम्मको बजेट खर्च सार्वजनिक गरेको छ । जसअनुसार कुल ८७.१३ प्रतिशत बजेट खर्च गर्न सफल भएको छ ।
लेखा नियन्त्रकको कार्यालय प्रदेश १ का अनुसार असार मसान्तसम्मकै तथ्यांक आउँदा ९० प्रतिशतभन्दा बढी विकास खर्च पुग्ने छ ।
कर्णाली प्रदेशमा आर्थिक वर्षमा ३८ अर्ब ४७ करोड ३५ लाख रुपैयाँको बजेट थियो । असार २५ गतेसम्मको खर्च विवरण अनुसार कर्णाली प्रदेशले जम्मा ६२.३७ प्रतिशत बजेट खर्च गर्न सकेको देखिएको छ ।
कर्णाली प्रदेशले ६६.२२ प्रतिशत चालु बजेट खर्च गर्दा विकासतर्फ पनि जम्मा ६० प्रतिशतमात्र छ । कर्णालीपछि सबैभन्दा कम खर्च गर्न मधेस प्रदेशको ६४.४ प्रतिशत छ ।
सबैभन्दा बढी विकास खर्च गर्ने प्रदेशमा गण्डकी दोस्रो देखिएको छ भने कुल बजेट खर्चमा लुम्बिनी दोस्रो स्थानमा छ । गण्डकी प्रदेशको ३१ अर्ब ३७ करोड ३६ लाख रुपैयाँ बजेटमा ८७.०५ प्रतिशत विकास खर्च गरेको छ । चालु खर्च ६०.५५ प्रतिशत गरेको गण्डकी प्रदेशको कुल बजेट खर्च भने ७०.४२ प्रतिशत छ । ४२ अर्ब ९४ करोड ११ लाख रुपैयाँको बजेट ल्याएको लुम्बिनी प्रदेशको कुल बजेट खर्च ७१.१४ प्रतिशत छ ।
सुदूरपश्चिम र बागमती प्रदेशको बजेट खर्च भने उस्तै देखिएको छ । असार मसान्तसम्म सुदूरपश्चिमले ६६.६१ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रकको कार्यालयका अनुसार सुदूरपश्चिममले ३१ अर्ब ४७ करोड ५६ लाख रुपैयाँको बजेट ल्याएको थियो । जसअनुसार ७१.७१ प्रतिशत चालुतर्फ र ६२.२२ प्रतिशत विकास खर्च भएको छ ।
बागमतीका प्रदेश लेखा नियन्त्रक हरिप्रसाद उपाध्यायका अनुसार ५७ अर्ब ७२ करोड रुपैयाँको बजेट थियो । जसमध्ये असार २५ सम्म ६६ प्रतिशतमात्र बजेट खर्च भएको बताए । चालुतर्फ ७१ र पुँजीगततर्फ ६१ प्रतिशत खर्च भएको उनले बताए ।