प्रदेश १ मा सवारी साधन खरीद तथा मर्मतमा पौने २ अर्ब खर्च
बिर्तामोड । प्रदेश १ ले गाडी खरिद र मर्मतसम्भारमा करिब पौने २ अर्ब खर्च गरेको छ । सवारी साधन खरिद तथा मर्मतमा अहिलेसम्म १ अर्ब ७७ करोड १३ लाख रुपैयाँ खर्च गरेको हो ।
उसले १ अर्ब २८ करोड २७ लाख १९ हजार रुपैयाँको गाडी किनेको छ भने मर्मतसम्भारमा ४८ करोड ८५ लाख ८५ हजार खर्च गरेको छ । प्रदेश १ ले चालु वर्षका लागि सवारीसाधन खरिदमा ३२ करोड ८७ लाख ६८ हजार र मर्मतसम्भारमा ६ करोड ५१ लाख १० हजार रुपैयाँ विनियोजन गरेको छ । प्रदेश १ सरकारका प्रवक्ता एवम् यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले सरकार सञ्चालन तथा प्रदेशका बासिन्दालाई सहज तरिकाले सेवा पुर्याउन सवारीसाधन खरिद गरिएको बताए । ‘अन्तर्राष्ट्रिय मापदण्डअनुरूप मुख्यमन्त्रीलगायतको सवारीसाधन खरिद गर्दा केही महँगो पर्यो,’ उनले भने, ‘तर जे भइसक्यो, त्यो भयो । अब भारतमा निर्माण भएको सामान्य सुविधाको सवारीसाधन मात्रै खरिद गर्ने मापदण्ड निर्माण गर्ने तयारीमा छौं ।’