केहि दिन यता बढ्दैछ कोरोना ग्राफ
काठमाण्डौ । पछिल्ला दिनहरुमा नेपालमा कोरोना संक्रमणको ग्राफ बढ्न थालेको छ । अघिल्लो शुक्रबार ७८ जनामा कोरोना संक्रमण देखिएकोमा शनिबारसम्म आउँदा एकैदिन २६० जना सम्ममा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अघिल्लो शुक्रबार ७८ जनामा कोरोना संक्रमण देखिएकोमा त्यसको भोलिपल्ट शनिबार १०२ जनामा संक्रमण पुष्टि भयो ।
गत आइतबार देशभर १२१ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा त्यसको भोलीपल्ट अर्थात सोमबार संक्रमण थप उकालो लाग्दै १६८ जनामा कोरोना देखियो ।
सोमबारको तुलनामा मंगलबार ९ अंकले बढेर १७७ जनामा संक्रमण देखिएकोमा भोलिपल्ट अर्थात बुधबार २०६ जनामा कोरोना संक्रमण पुष्टि भयो । उक्त दिनदेखि नै नेपालमा दैनिक कोरोना संक्रमितको संख्या दुई सय भन्दा माथि रहेको छ ।
बिहीबार नेपालमा २६० जनामा कोरोना पुष्टि भएपनि शुक्रबार भने केही कम अर्थात २२९ जना कोभिड संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विदेशबाट आउनेहरुमा कोरोना संक्रमण बढ्दै गएको पाइएको छ ।
अधिकांशमा ओमीक्रोनको बिए वान र बिए टु भेटिएको छ । अन्य देशहरुमा बिए फाइब फैलिरहेको अवस्थामा नेपाल पनि त्यसको जोखिममा छ । हाल कुल संक्रमण दर १७ प्रतिशत छ । संक्रमणमुक्त हुने दर ९८ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
अरु भन्दा बढी संक्रामक रहेको यो भेरियन्ट नेपालमा भने हालसम्म देखिइसकेको छैन । पछिल्लो २४ घण्टामा देशभर थप २२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २०६ जनामा संक्रमण पुष्टि भएको हो । तीन हजार ७१८ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।
एक हजार ६४४ जनाको पिसिआर र दुई हजार ७४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । अहिले देशभर एक हजार २८४ जना सक्रिय संक्रमित छन् ।
४८ जना संक्रमित निको समेत भएका छन् । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ ।
हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्ला काठमाण्डौमा मात्रै रहेको छ । शून्य संक्रमित रहेका जिल्लामा ताप्लेजुङ, मनाङ, मुस्ताङ, जाजरकोट, डोल्पा, कालीकोट, मुगु, बाजुरा र डडेलधुरा रहेका छन् ।
उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौंमा ७८६, ललितपुर ९० र भक्तपुरमा १९ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।