२०८३ बैशाख ६ गते , आईतबार

बिर्तामोडको स्वास्थ्य सेवामा आवद्धलाई नगरपालिकाको सम्मान

sajilo news
परिवेश मिडिया
२०७९ असार २५ गते , शनिबार
बिर्तामोडको स्वास्थ्य सेवामा आवद्धलाई नगरपालिकाको सम्मान

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले स्वास्थ्य सेवामा आवद्ध भिन्न संस्था, ब्यक्ती तथा समूहलाई सम्मान गरेको छ । शनिबार पालिकाले बार्षिक समीक्षा कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।
स्वास्थ्य शाखाले शनिबार आयोजना गरेको आर्थिक वर्ष २०७८/०७९ को स्वास्थ्य तर्फको वार्षिक समीक्षा कार्यक्रममा प्रस्तुत गरेको प्रगति तथ्याङ्कका आधारमा गरामनी स्वास्थ्य चौकी पहिलो भएको हो  । मुल्याङ्कनमा वडा नम्बर १० को सैनिकबजार आधारभूत स्वास्थ्य चौकी दोश्रो र वडा नम्बर ३ मा रहेको अनारमनी नगरअस्पताल तेश्रो भएका छन् । विजेता स्वास्थ्य संस्थाका प्रमुख तथा सम्बन्धित वडाका वडाध्यक्षहरुलाई कार्यक्रमकी प्रमुख अतिथि नगरप्रमुख पवित्रा महतारा प्रसाईले प्रमाणपत्र प्रदान गरेकी छिन् । 
सोही कार्यक्रमका विच महिला तथा बालबालिकाको स्वास्थ्य अवस्थालाई प्रबर्धन गर्न, स्वास्थ्य सेवालाई समुदायस्तरसम्म स्थापित गर्न र सामाजिक सेवाका विभिन्न क्रियाकलापहरुमा स्वयमसेवकको रुपमा महत्वपुर्ण योगदान पुर्याउने वडा नम्बर २ की शान्ता लिम्बु, वडा नम्बर ४ की रेणुका उप्रेती र वडा नम्बर ९ की विष्णुमाया श्रेष्ठलाई सम्मान गरिएको छ । उनीहरुलाई ५ हजार रुपैयाँ नगदसहित सम्मान पत्र प्रदान गरिएको हो । वडा नम्बर १ को जागृती आमा समूह, वडा नम्बर ५को इन्द्रेणी आमा समूह र वडा नम्बर ७ को बिरान आमा समूहलाई समेत सम्मान गरिएको छ । उनीहरुले सम्मानपत्र सहित ५ हजार रुपैयाँ मुल्य बराबरको जिन्सी सामाग्री प्राप्त गरेका छन् । नगरप्रमुख प्रसाईले स्वास्थ्य पहिलो प्राथमिकतामा रहेकोले जनताले पाउने सुविधाबाट बन्चित गर्न नहुने बताइन् । उनले प्रक्रियागत रुपमा केहि समस्या भए हल गर्दै जनतालाई सरकारी स्तरबाट गर्न सकिने सेवा सुविधालाई सरल र सहज बनाउँदै लैजान निर्देशन समेत दिइन् । कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डे, वडा नम्बर ७ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्गवा, स्वास्थ्य कार्यालय झापाका प्रमुख योगराज घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

सम्बन्धित समाचार