बिर्तामोडको बजेट घट्यो, आगामी आवका लागि १ अर्ब ३८ करोड प्रस्ताव
बिर्तामोड । बिर्तामोड नगरपालिकाले आगामी आर्थिक बर्षको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । पालिकाले शुक्रबार दोस्रो नगरसभा तथा पहिलो नगरअधिवेशनमार्फत आव ०७९/८० का लागि १ अर्ब ३८ करोड ३५ लाख ४ हजार ४९० रुपैँयाको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । आगामी आवको बजेट चालु भन्दा २ करोडले घटी हो ।
बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले सार्वजनिक गरेको बजेटमा आयतर्फ संघीय समानीकरण अनुदानबाट २३ करोड ६० लाख, संघीय सरकार राजश्व बाँडफाँडबाट १३ करोड ४३ लाख ९८ हजार, प्रदेश समानीकरण अनुदानाबाट १ करोड ३३ लाख ७२ हजार, प्रदेश राजश्व बाँडफाँडबाट १ करोड १७ लाख ११ हजार ४ सय ९०, नगरको आन्तरिक आयाबाट १५ करोड र मालपोत रजिष्ट्रेशन शुल्कबाट ११ करोड गरी ६५ करोड ५४ लाख ८१ हजार ४९० प्राप्त हुने उल्लेख छ ।
शसर्त अनुदान चालु तर्फ २६ करोड ७१ लाख तथा पूँजीगत तर्फ १७ करोड १८ लाख, विशेष अनुदान २ करोड र समपुरक अनुदान १ करोड प्राप्त हुने गरी बजेट प्रस्ताव गरिएको छ ।
त्यस्तै खर्चतर्फ प्रशासनिक खर्च, कृषि, पशुविकास, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा दिनइने अनुदान, क्षमता विकास, सीप विकास तालिमहरु तथा लक्षित वर्गको लागि विनियोजन गरिको बजेट रहने बताइएको छ । पूँजीगत तर्फ बहुबर्षे तथा क्रमागत योजनाहरुको निरन्तरता, शिक्षा, कृषि, पशुविकास तथा स्वास्थ्यका पूर्वाधारजन्य योजना तथा कार्यक्रम, सडक सुधार तथा हेभी इक्युपमेन्ट सञ्चालन, मर्मत संभार कोष, विपन्न आवास निर्माण कार्यक्रम, वडास्तरीय योजना तथा कार्यक्रमहरु, स्वास्थ्य केन्द्र तथा वडा कार्यालयहरुको भवन घेराबारा तथा मर्मत, फोहोरमैला व्यवस्थापन, सूचना प्रविधि व्यवस्थापन जस्ता योजना तथा कार्यक्रमहरुमा विनियोजन हुनेगरी बजेट प्रस्ताव गरिएको छ ।
शिक्षा, स्वास्थ्य र कृषिमा जोड
नगरसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य र कृषिमा जोड दिइएको छ । कक्षा १–३ लाई झोलारहित कक्षा सञ्चालन गर्ने, प्रत्येक शुक्रबार २ घण्टाको समय सामुदायिक विद्यालय र संस्थागत विद्यालयका विद्यार्थीहरुलाई रुचि अनुसारको सीप विकास र रोजगारमूलक क्षमता अभिवृद्धिका प्रयोगात्मक कक्षा नमुनाको रुपमा केहि विद्यालयमा सञ्चालन गरिने जनाइएको छ ।
शिक्षा ऐन तथा नियमावली तर्जुमा गरी कार्यान्वयनमा ल्याउने समेत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
बिर्तामोडको नगर अस्पताललाई स्तरोन्नती गरी सुविधा सम्पन्न बनाइने भएको छ । आवश्यक प्राविधिक जनशक्ति, विशेषज्ञ डाक्टर, नर्सहरुको व्यवस्था, डिजिटल एक्सरे, भिडियो एक्सरे, ल्याव व्यवस्थापनका लागि बजेटको व्यवस्था गरिने कार्यक्रममा उल्लेख गरिएको छ । नगर भित्रका अति विपन्न परिवार छनौट गरि निःशुल्क स्वास्थ्य विमा कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।
कार्यक्रममा पर्यटन, वन वातावरण तथा विपद व्यवस्थापन, कृषि तथा पशुपालन, पशुपंक्षी विकास, उद्योग, व्यापार व्यवसाय, श्रम तथा रोजगार र सहकारी, यातायात तथा पूर्वाधार निर्माण, युवा तथा खेलकुद, कला, साहित्य, संगीत, भाषा, धर्म, संस्कृति र सभ्यता, सामाजिक सुरक्षा र लक्षित समूह गरि विभिन्न योजनाहरु समावेश गरिएको छ ।
नगरपालिका, वडा कार्यालय, नगर अस्पताल तथा मुख्य स्थलहरुमा निःशुल्क वाइफाइको व्यवस्था गरिनेसमेत कार्यक्रममा उल्लेख गरिएको छ ।
त्यस्तै पाँच बर्षभित्र तीनै तहका सरकारको लगानीमा नगर गौरवका आयोजना अन्तर्गत अदुवा खोला तटबन्ध निर्माण, नगर रिङरोड निर्माण, बुट्टाबारीदेखि प्याकुरेल चोक जोड्ने स्मार्ट सडक, वुधबारे बजारलाई व्यवस्थित गर्दै बहुतले पार्किङसहितको व्यवसायिक भवन निर्माण, बिर्ता बजार कृषि तथा सामुदायिक भवन निर्माण, डिजिटल सेवा प्रवाहका लागि प्रविधियुक्त प्रशासनिक भवन, डोमालाल राजवंशी रंगशाला स्तरोन्नती, खेतीयोग्य जमिनमा सिँचाई सुविधा, सबै वडा तथा टोलहरुमा पाइपलाइन खानेपानी पुर्याउने आदि योजनाहरु प्रस्ताव गरिएको छ ।