बाह्रदशीमा एक दिने स्वास्थ्य शिविर सम्पन्न
बिर्तामोड । झापाको बाह्रदशी गाउँपालिकामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बिहिबार बाह्रदशी-४ का वडाध्यक्ष महताव आलमको समन्वयमा हेल्पिङ हेण्डले शिविरको आयोजना गरेको हो ।
गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा स्वतन्त्रबाट बाह्रदशी-४ को वडाध्यक्ष जितेका आलमले वडाबासीको सहजताका लागि शिविर आयोजना गरिएको बताए । अहिलेसम्म पनि कुनै स्वास्थ्य शिविरको गतिलो लाभ लिन नसकेका त्यस क्षेत्रका बासिन्दाले वडाध्यक्षको यो कार्यको प्रसंशा गरे । स्वास्थ्य शिविर मार्फत आँखा, पाठेघर, दाँत, हाडजोर्नी लगायतका विरामीहरुले लाभ लिएको आलमले जानकारी दिए ।
चकचकी स्वास्थ्य चौकीमा आयोजित शिविरमा ८ जना डाक्टरसहित २० जना स्वास्थ्यकर्मीले विरामीको स्वास्थ्यजाँच गरेका थिए । भद्रपुर, दमक, विर्तामोडसम्म आएर स्वास्थ्य जाँच गराउन नसकिरहेका बिरामीहरु शिविरबाट प्रत्यक्ष लाभान्वित भएका छन । करिव १ हजार पाँच सय बिरामीको जाँच गरिएको हेल्पिङ हेण्डका अध्यक्ष जिवन पोख्रेलले जानकारी दिए । शिविरमा आँखासम्बन्धि बिरामी बढी आएको स्वास्थ्य जाँचमा संलग्न एक डाक्टरले बताए । शिविरमा औषधीसमेत नि:शुल्क बितरण गरिएको पोख्रेलले बताए । पोख्रेलका अनुसार अपरेशन गर्नुपर्ने बिरामीको खर्च वडाध्यक्षको सिफारिसमा हेल्पिङ्ग ह्याण्ड संस्थाले गर्नेछ ।