नेपाली फुटबलका मुख्य प्रशिक्षक अल्मुताइरी नेपाल नफर्कने संकेत
काठमाडौं । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाल नफर्किने संकेत गरेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी चार वर्षे कार्यकालका लागि पंकजविक्रम नेम्वाङ अध्यक्षमा निर्वाचित भएसँगै अल्मुताइरीले त्यस्तो संकेत गरेका हुन् ।
प्रशिक्षक अल्मुताइरीले इन्स्टाग्राम–स्टोरीमा नेपाली फुटबलप्रति सुखद् भविष्यको कामना गर्दै आफू नफर्किने संकेत गरेका छन् । उनले आफ्नो इन्स्टाग्राम–स्टोरीमा लेखेका थिए,‘आगामी दिनमा नेपाली फुटबलको सफलताको कामना गर्दछु । उत्कृष्ट अनुभवको लागि धन्यवाद नेपाली फ्यानहरू, नेपाल सधैं मेरो हृदयमा रहनेछ तर हरेक कथा समाप्त भएको छ ।’ यद्यपि उनले त्यो स्टोरी भने हटाएका छन् ।
हालै कुवेतमा एएफसी एसियम कप छनोट खेलेपछि अब्दुल्लाह गृहनगर नै छन् । उनले नेपाली टिम फर्कने समयमा एन्फाको चुनावको नतिजासँगै आफू फर्कने या नफर्कने तय हुने बताएका थिए ।
नेपाली राष्ट्रिय टिमको प्रशिक्षक हुँदै गर्दा प्रशिक्षक अल्मुताइरीले तत्कालीन वरिष्ठ उपाध्यक्ष नेम्वाङका कारण आफू पदबाट राजीनामा दिन एन्फा जान लागेको फेसबुकमा लेखेका थिए ।
तर, उनले राजीनामा भने दिएका थिएनन् । नेपाललाई पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुर्याए पनि उनले नेपाल नफर्किने अभिव्यक्ति दिएका थिए ।
एसियन कप छनोटको तेस्रो चरणका लागि आफ्नो देश कुवेत पुगेका अब्दुल्लाह तीन महिनाका लागि विदामा छन् ।