बिर्तामोडमा लामखुट्टेको लार्भा नष्ट गर्न थालियो
झापा । बिर्तामोड नगरपालिका क्षेत्रमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु भएको छ । डेंगुलगायत किटजन्य रोगहरुको नियन्त्रणका लागि लामखुट्टे बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान सुरु भएको हो । वडा नम्बर १ को कार्यालयमा शनिबार विहान आयोजित एक कार्यक्रमका विच अभियानको सुरुवात गरिएको हो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईले विषादी छर्किने प्राविधिकहरु तालिम प्राप्त रहेकोले सिकेको सीपलाई सुरक्षित तवरले प्रयोग गर्न सुझाव दिइन् । लापर्वाही ढंगले काम गर्दा आफ्नो स्वास्थ्यमा समेत क्षति पुग्ने भन्दै उनले सीपलाई इमान्दारिताका साथ पालना गर्नु पर्ने बताइन् ।
वडाध्यक्ष अग्निप्रसाद पाण्डेले प्राविधिकहरुले निर्देशनअनुसार काम गर्न आग्रह गरे । उनले विषादी छर्किने स्थलमा टोल विकास संस्थाका पदाधिकारी तथा वडाका जनप्रतिनिधिहरुले सहयोग गर्ने बताए ।
यो अभियान असार १७ गतेसम्म सञ्चालन हुने छ । अभियानमा विषादी छर्किने तालिम प्राप्त २५ जनाको टोली खटिएको जनस्वास्थ्य निरीक्षक ओमबहादुर खड्काले जानकारी दिए । वडा नम्बर १ मा ४ र ५ गते, वडा नम्बर ५ मा ६ र ७ गते, वडा नम्बर ३ मा ८ र ९ गते, वडा नम्बर ४ मा १० र १५ गते, वडा नम्बर २ मा १२ गते, वडा नम्बर ६ मा १३ गते, वडा नम्बर ७ मा १४ गते, वडा नम्बर ८ मा १५ गते, वडा नम्बर ९ मा १६ गते र वडा नम्बर १० मा १७ गते विषादी छर्किने तालिका रहेको बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । एक पटक छर्किएको विषादीले ३ महिनासम्म प्रभावकारी रुपमा काम गर्ने बताइएको छ ।
अभियान उद्घाटन कार्यक्रममा नगरका स्वास्थ्य शाखा प्रमुख राजिव विष्ट लगायत जनप्रतिनिधि तथा कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।