बिर्तामोडले उत्कृष्ट शिक्षकलाई पुरस्कृत गर्ने
बिर्तामोड । बिर्तामोड नगरपालिकाले तीन जना उत्कृष्ट शिक्षकलाई पुरस्कृत गर्ने भएको छ । पालिकाले नगर क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक मध्ये उत्कृष्ट तीन जनालाई पुरस्कृत गर्ने भएको हो ।
पालिकाले कक्षा ५ सम्मका एक जना, कक्षा ६ देखि ८ सम्मको एक जना र कक्षा ९ देखि १२ सम्म अध्यापनरत एक जना गरी तीन जना शिक्षकलाई पुरस्कृत गर्ने निर्णय गरेको शिक्षा शाखाका प्रमुख तिलचन भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार प्रत्येक शिक्षकलाई पचास हजार रुपैँयाका दरले पुरस्कृत गरिने छ । पालिकाले शिक्षकहरुबाट आवेदन माग गरेको छ । प्राप्त आवेदनहरु मध्येबाट तीन जना उत्कृष्ट शिक्षक छनौट गरिने उनले बताए । पालिकाले उत्कृष्ट शिक्षक छनौटका लागि उमानाथ ओली, इन्द्र मुखिया र युवराज पाण्डेसम्मिलित समिति निर्माण गरेको छ ।
शिक्षकहरुको मनोबल उच्च राख्न र शैक्षिक गुणस्तर वृद्धि गर्न पुरस्कृत गर्न लागिएको बताइएको छ । नगरपालिकाले यसै बर्षदेखि उत्कृष्ट शिक्षकलाई पुरस्कृत गर्न लागेको हो । बिर्तामोड नगरपालिकाको यो कार्यले शिक्षकको मनोबल बढाउनुका साथै पेशाप्रति थप जिम्मेवार बन्न सहयोग पुग्ने शिक्षक धर्मेन्द्र भट्टराईले बताए ।