२०८३ बैशाख ६ गते , आईतबार

पूर्वाधार कर हटाइएसँगै १० रुपैँयाले सस्तियो डिजेल–पेट्रोलको मूल्य

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ १९ गते , विहीबार
पूर्वाधार कर हटाइएसँगै १० रुपैँयाले सस्तियो डिजेल–पेट्रोलको मूल्य

काठमाण्डौ । डिजेल, पेट्रोल र मट्टितेलमा लाग्दै आएको पूर्वाधार कर हटाइएको छ । पूर्वाधार कर हटाइएसँगै डिजेल, पेट्रोल र मट्टितेलको मूल्य घटेको छ । नेपाल आयल निगम सञ्चालक समितिको विहिबार बसेको बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य लिटरमा १०/१० रुपैयाँले घटाउने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रूपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १५३ रूपैयाँ पर्नेछ । अर्थ मन्त्रालयले पूर्वाधार कर घटाएर गरेर मूल्य समायोजन गर्न लिखित निर्देशन दिएपछि यस्तो निर्णय भएको प्रवक्ता उपाध्यायले बताए ।
सरकारले पेट्रोलियम पदार्थमा लाग्ने प्रतिलिटर १० रूपैयाँ पूर्वाधार कर घटाएपछि मूल्य समायोजन भएको हो । बजेट वक्तव्यमार्फत नै सरकारले पेट्रोलमा लगाएको कर घटाउने घोषणा गरेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य बढ्दै जाँदा उच्च दरको करका कारण मूल्य पनि आकासिएको थियो । डा. युवराज खतिवडा अर्थमन्त्री भएका बेला प्रतिलिटर इन्धनमा पूर्वाधार कर समेत जोडेर लिन सुरु भएको थियो । त्यसलाई हटाउन माग हुँदै आएपनि सरकारले बेवास्ता गर्दै आएको थियो । पूर्वाधार कर हटाउँदा प्रतिलिटर इन्धनमा ५३ रुपैँया कर लाग्नेछ । 

सम्बन्धित समाचार