२०८३ बैशाख ५ गते , शनिबार
हजुरआमाको हत्या आरोपमा नातिनी पक्राउ
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ बहेडवा बस्ने ६७ बर्षीया सुखनीदेवी चौधरीको हत्या आरोपमा २४ बर्षीया ममता चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । ममता र सुखनीदेवी हजुरआमा नातिनी भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
गत चैत २३ गते सुखनीदेवीको शंकास्पद मृत्यु भएको थियो । घटना लगत्तै प्रहरीले प्रमाण संकलन गरी अनुसन्धान गर्ने क्रममा ममताले सुखनीदेवीसँग मनमुटाव राख्दै आएको र सो दिन ममताले सुखनीदेवीको घाँटी थिचेर हत्या गरेर भागेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक सन्तोष आचार्यले जानकारी दिए । पक्राउ परेकी ममतालाई कर्तव्य ज्यान मुद्दा अन्तर्गत म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।