बिषादीरहित तरकारी खेतीबाटै बार्षिक ५० लाख आम्दानी
बिर्तामोड । नेपालमा आम्दानीको राम्रो स्रोत नभएको भन्दै दैनिक सयौँको संख्यामा नेपालीहरु विदेशिने गरेका छन् । अदक्ष कामदारको रुपमा विदेश जानेहरुको पनि कमाई सोँचेजस्तो भने हुँदैन । तर नेपालमै रहेर व्यवसाय गर्नेको पनि सोँचेभन्दा राम्रो कमाई भइरहेको पाइन्छ । त्यसै मध्येका एक जना युवा कृषक हुन् बिर्तामोडका प्रदिप खनाल ।
फर्म सञ्चालक प्रदिप खनाल
प्रदिप खनालले बिर्तामोड–७ मा हाम्रो कृषि फर्म सञ्चालन गरेका छन् । खनालले १७ विगाह जग्गा भाडामा लिएर फर्म चलाएका हुन् । उनको फर्ममा मौसम अनुसार हुने सबै खाले तरकारी उत्पादन हुन्छ । बिषादीरहित तरकारी उत्पादन गर्नु फर्मको अर्को बिशेषता हो ।
ट्याक्टर ढुवानीको काम गर्दै आएका प्रदिपले व्यवसायमा धेरै चुनौती देखेपछि कृषि पेशामा आकर्षित भएको बताए । उनले शुरुमा तरकारीसँगै बाख्रा फर्म सञ्चालन गरे । तर, बाख्रामा रोग लागेपछि अहिले उनी तरकारी खेतीमै आकर्षित भएका छन् । तरकारी खेतीबाट खर्च कटाएर बार्षिक ५० लाख आम्दानी हुने खनाल बताउँछन् । तरकारीमा जोखिम कम हुने र आम्दानीपनि राम्रो हुने उनले बताए ।
स्थानीय तह निर्वाचन २०७४ बाट बिर्तामोड नगरपालिकाको प्रमुख बनेर ध्रुवकुमार शिवाकोटी आएपछि नगरलाई स्मार्ट बनाउने योजना बनाए । स्मार्ट नगरका लागि स्मार्ट मानिस र स्मार्ट मानिसका लागि राम्रो स्वास्थ्य भन्ने उनले नारा बनाए । राम्रो स्वास्थ्यका लागि विषादीरहित तरकारी भनेर बिर्तामोड नगरमा उनले मेयर विषादी मुक्त अभियान नै सञ्चालन गरे । कृषिमा आवश्यक बजेट छुट्याए, कृषकलाई विषादीरहित तरकारी उत्पादनमा अभिप्रेरित गरे । प्रदिपपनि त्यहि मेयरको अभियानबाट प्रेरित भएर अगाडी बढेको बताउँछन् । कृषकहरुलाई नगरपालिकाले विउ, प्राविधिक सहयोग लगायत अन्य पूर्वाधारमा राम्रो सहयोग गरेको खनालको भनाई छ । ‘नगरपालिकाले हामीलाई आवश्यक ७० प्रतिशत विउ उपलब्ध गराउने गरेको छ,’ उनले भने,‘मल्चिङलगायत आवश्यक सामाग्री र पूर्ण रुपमा प्राविधिक सहयोग उपलब्ध गराउँदा उत्पादन राम्रो भएको छ ।’

चार बर्ष अघि फर्म शुरु गरेका खनालले शुरुका दुई बर्ष बार्षिक २०/२५ लाख आम्दानी गर्न सकेको बताए । यो बर्ष ५० देखि ६० लाख आम्दानी हुने उनको अनुमान छ । यो बर्ष दुई वटा खुट्टीबाट मात्र चार लाखको फर्सी बिक्री भएको उनले सुनाए । उनले भाडामा लिएको जग्गा बार्षिक १५ देखि ६० हजार रुपैँयासम्म भाडा तिर्छन । जग्गाको बनावट अनुसार तरकारी, धान, आलु, मकै, जै घाँसआदि लगाउँछन् ।
उनको फर्मबाट खोर्सानी, काँक्रा, बोडी, करेला, लौका, क्याप्सिकन आदि उत्पादन हुने गरेको छ । विषादी न्यूनिकरणका लागि अत्यन्तै संवेदनशिल रहेका खनालको फर्मबाट उत्पादित तरकारीमा विषादी अवशेष ३ं.५ प्रतिशतमात्र रहेको बिर्तामोड नगरपालिका कृषि शाखाका कर्मचारी सुजित शाहले जानकारी दिए । तरकारीमा विषादी अवशेष ३५ प्रतिशतभन्दा कमलाई खानयोग्य मानिन्छ ।

खनालको फर्ममा दैनिक ११ जनाले रोजगारी पाएका छन् । सिजन अनुसार ६०/७० जनासम्मले फर्ममा काम गर्ने गरेको खनालले बताए । उनीहरुले विरुवा रोप्ने, थाङग्रा हाल्ने, मल हाल्ने, फल टिप्ने लगायत काम गर्छन । सञ्चालक खनाल आफूपनि फर्म मै काम गर्छन् । कामदारलाई चिया खाजा बनाउने, तरकारीबालीमा पानी हाल्ने लगायतका काम आफैँ गर्ने खनालको भनाई छ । फर्ममा उत्पादन भएको तरकारीको बजारीकरणमा कुनै समस्या नभएको खनाल बताउँछन् ।
शहरीक्षेत्र रहेको बिर्तामोडमा मेयर बिषादीमुक्त अभियान सञ्चालन गर्दा कतिपयले बजारमा के को खेती हुन्छ भन्दै मेयरलाई खिल्ली उडाए । तर बिषादीबाट मानव स्वास्थ्यमा पर्ने असरबारे बुझेपछि कृषकहरु बिषादी न्यूनिकरणमा लागेको नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र कडरियाले बताए । कृषकहरुलाई नगरपालिकाले कृषि औजार, बिउबिजन, अन्य सामाग्री, सिँचाईका लागि बोरिङ उपलब्ध गराउने गरेका कारण मानिसहरु व्यवसायीक खेती तर्फ आकर्षित बनेको र बिषादीको मात्रा ह्वात्तै घटेको उनको भनाई छ ।
हाम्रो कृषि फर्मका सञ्चालक खनाल आफुपनि नगर स्तरीय तरकारी उत्पादन तथा व्यवस्थापन समितिका सचिव हुन् । नगरपालिका भित्रका किसानले उत्पादन गरेका बिषादीको मात्रा कम भएको तरकारी बिक्री गर्ने गरी छुट्टै संयन्त्र निर्माण भइरहेको र छुट्टै स्टल राखेर बिक्री गरिने खनालले बताए ।