जनकपुरमा अत्याधुनिक क्यान्सर अस्पताल निर्माण हुँदै
जनकपुर । विनयतारा फाउन्डेशन क्यान्सर सेन्टर (बिटिएफसिसी)ले जनकपुरधाममा २०० शय्याको अत्याधुनिक क्यान्सर अस्पताल निर्माण गर्ने भएको छ । विनयतारा फाउण्डेशन (अमेरिका) सँगको सहकार्यमा विनयतारा फाउन्डेशन क्यान्सर सेन्टरले अत्याधुनिक क्यान्सर अस्पताल निर्माण गर्न लागेको हो ।
सोमबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा फाउन्डेशनका अध्यक्ष डा. विनय शाहले अस्पताल निर्माण सम्बन्धि जानकारी गराएका हुन् । डा. शाहले आगामी वैशाख २ गते जनकपुरधाममा सो क्यान्सर अस्पताल भवनको शिलान्यास गर्ने तयारी गरिएको जानकारी दिए । उनले पूर्व राष्ट्रपति डा. रामवरण यादवले अस्पतालको शिलान्यास गर्ने जानकारी दिए ।
डा. शाहले अस्पताल भवनको अमेरिकाको सान फ्रान्सिस्कोस्थित फोंग एण्ड चान आर्किटेक्ट्सले डिजाइन गरेको बताए । उनका अनुसार पहिलो चरणमा यो अस्पताल एक लाख वर्ग फिटमा सञ्चालन हुनेछ भने सन् २०२५ सम्ममा १०० शय्याको भवन निर्माण पूरा हुनेछ । अस्पताल भवन निर्माणका लागि स्थानीय समाजसेवी विनोद ठाकुरले केही जग्गा दान गरेको डा. शाहले बताए ।
बिटिएफसिसीले प्रतिवर्ष लगभग २५ हजार बिरामीलाई सेवा दिने लक्ष्य राखेको छ । विगतमा, यीमध्ये धेरै बिरामीले क्यान्सरको उपचारका लागि आठ घण्टा वा बढी यात्रा गर्नुपर्थ्यो । यस्तो यात्राका लागि स्रोतसाधन नभएकाले उपचार नै पाउँदैनथे ।
हाल जनकपुरधाममा बिटिएफसिसीको २५ शय्याको अस्पताल सञ्चालनमा छ। जनकपुरधामको कपिलेश्वर सडकमा भाडाको भवनमा रहेको सो अस्पतालका सेवामा मेडिकल ओन्कोलोजी, सर्जिकल ओन्कोलोजी, टाउको र घाँटीको क्यान्सर सर्जरी, प्रयोगशाला, फार्मेसी, आपत्कालीन कोठा, रेडियोलोजी, हिस्टोप्याथोलोजी, आइसियु र एनेस्थेसियोलोजी समावेश छन्।
डा. शाहले यो दक्षिण एशियाकै आधुनिक अस्पतालकारुपमा स्थापित हुने दाबी गरे।
विनयतारा क्यान्सर ट्रष्ट (बिसिटी) का अध्यक्ष डा. योगेन्द्रप्रसाद सिंहका अनुसार यस क्षेत्रमा स्तरीय क्यान्सर सेन्टर खोल्नाले यस क्षेत्रका मानिसको स्वास्थ्य उपचारमा मात्र मद्दत गर्ने नभई आर्थिक, सामाजिक गुणस्तर र जीवनयापनमा पनि परिवर्तन ल्याउन सक्नेछ। ‘हामी अन्तर्राष्ट्रियस्तरको क्यान्सर उपचारलाई मधेसमा लिएर आउँदैछौँ । यसलाई मधेस परिवर्तनको अभियानका रुपमा हामीले लिएका छौँ । यहाँको अर्थतन्त्र मजबुत हुनेछ, मानिसले रोजगारी पाउनेछन् र स्वास्थ्य सेवाको लागि मधेस बिरामीको गन्तव्यस्थल हुनेछ,’ उनले भने।
विनयतारा क्यान्सर ट्रष्ट एड्भाइजरी कमिटीका अध्यक्ष, प्रसिद्ध चर्मरोग विशेषज्ञ डा. अनिलकुमार झा भन्छन्, ‘विनयतारा फाउण्डेशन क्यान्सर सेन्टरको भिजन, मिसन र लक्ष्य भनेको मधेस, सिङ्गो नेपाल र छिमेकी देशका सीमावर्ती क्षेत्रका क्यान्सर रोगीका लागि अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा प्रदान गर्नु हो । हामीलाई थाहा छ, यो अस्पताल निर्माण तथा स्थापनामा धेरै चुनौती छन् तर बिटिसी परिवार यसलाई सम्भव र शतप्रतिशत सफल बनाउनेमा प्रतिबद्ध छौँ ।’
विनयतारा क्यान्सर ट्रस्ट २०७५ गैर नाफामुखी संस्थाका रुपमा स्थापना भएको हो । स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाका क्षेत्रमा काम गर्न समर्पित यस ट्रस्टले २०७५ साल मङ्सिरदेखि विनयतारा फाउन्डेशन क्यान्सर सेन्टर सञ्चालनमा ल्याएको छ। बिटिएफसिसीको आफ्नो भवन निर्माण गरी यसलाई अन्तर्राष्ट्रिय स्तरको अस्पतालका रुपमा स्थापित गरेपछि ट्रस्टले आफ्ना अन्य योजनालाई अगाडि बढाउने बताएको छ। विनयतारा फाउन्डेशन (अमेरिका) क्यान्सरको शिक्षा तथा उपचारका क्षेत्रमा कार्यरत गैरनाफामुखी गैरसरकारी संस्था हो ।