लघुवित्त कारोबार गर्ने सहकारी दुई ढुंगाबिचको तरुल : गिरी
काठमाडौं । लघुवित्त कारोबार गर्ने सहकारी दुई ढुंगाबिचको तरुल भएको बताइएको छ । सोमबारबाट काठमाण्डौमा शुरु भएको तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनमा सहभागीहरुले त्यस्तो गुनासो गरेका हुन । सम्मेलनमा सहभागीहरुले सहकारीमार्फत लघुवित्त कारोबार प्रभावकारी हुने भएपनि यसतर्फ सरोकारवालाहरुले चासो नदिएको बताएका छन ।
कार्यक्रममा सहकारी संस्थाहरुको तर्फबाट कार्यपत्र प्रस्तुत गर्दै सहारा नेपाल बचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृत महेन्द्र गिरीले लघुवित्त कारोबार गर्ने सहकारीहरुलाई आफ्नो पहिचाहन बनाउन अप्ठ्यारो भएको बताए । ‘लघुवित्तका साथीहरुले यो सहकारी हो भन्ने, सहकारीका साथीहरुले यो लघुवित्त हो भन्ने व्यवहार गर्छन्’ उनले भने, ‘हामीलाई काम गर्न अप्ठ्यारो भएको छ, यसप्रति सरोकारवाला संवेदनशिल बन्न जरुरी छ ।’
सदस्य बनाएर कारोबार गर्ने भएकाले सहकारीहरुको लघुवित्त कारोबार अझ प्रभावकारी हुने गिरीले बताए । सहकारीको नाफा सदस्यहरुलाई सेयर लाभांस र संरक्षित पुँजी फिर्ता कोषमार्फत प्रतिफल बाँड्ने भएकाले दोहोरो फाइदा पाउने उनले उल्लेख गरे । नेपालमा बचत तथा ऋण कारोबार गर्ने सहकारीहरुमध्ये १५ प्रतिशत सहकारीहरुले लघुवित्त कारोबार गर्दै आएको उनले जानकारी दिए । यसैगरी लघुवित्त कारोबार गर्ने सहकारीहरुमा बचतको आधार पनि बलियो भएको गिरीको भनाई छ ।
कृषि विकास बैंक, साना किसान लघुवित्त वित्तिय संस्था, आरएमडिसि, फस्ट फाइक्रोफाइनान्सका साथै राष्ट्रिय सहकारी बैंक र बाणिज्य तथा विकास बैंकबाट थोक कर्जा लिएर सहकारीहरुले लघुवित्त कारोबार गर्ने गरेका छन् । सम्मेलन मंगलबारसम्म चल्ने छ ।