‘केचना–कंचनजङ्घा चलचित्र महोत्सव’ हुँदै
बिर्तामोड । नयाँ बर्षको अवसरमा चैत २५ गतेदेखि बैशाख २ गतेसम्म ‘केचना–कंचनजङ्घा चलचित्र महोत्सव’ हुने भएको छ । मेची अञ्चलको पर्यटन प्रबर्द्धनका लागि महोत्सव आयोजना गरिएको हो ।
सबैभन्दा होचो स्थान झापाको केचना (कचनकवल) देखि अञ्चल कै अग्लो भूभाग कञ्चनजंघा हिमालबिचको पर्यटकीय गन्तव्यलाई व्यवस्थित गर्ने उद्धेश्यले महोत्सवको आयोजना गरिएको मूल आयोजक समितिका अध्यक्ष केशव धौरालीले जानकारी दिए । मेची अञ्चलका चार जिल्लाहरुको धार्मिक तथा पर्यटकीय क्षेत्रको बारेमा जानकारी दिनुका साथै त्यस क्षेत्रमा पर्यटकको संख्या बढाउने उद्धेश्यले महोत्सव आयोजना गर्न लागिएको उनको भनाई छ । कोरोना संक्रमणका कारण थला परेको पर्यटनसँगै आर्थिक क्षेत्रको विकासमा महोत्सव सहयोगी हुन सक्ने अध्यक्ष धौरालीले बताए ।
महोत्सवमा यस क्षेत्रका कृषिजन्य वस्तुहरु, दुग्धजन्य वस्तुहरु, हस्तकलाका उत्पादनहरु, स्थानीय खानाका परिकारहरु लगायतका स्टलहरुसमेत राखिने प्रचारप्रसार समितिका संयोजक बिप्लव भट्टराईले जानकारी दिए । महोत्सवमा मेची अञ्चलमा छायाङ्कन गरिएका चलचित्रहरु समेत प्रदर्शन गरिने आयोजकले जनाएको छ । चलचित्रले समेत पर्यटन प्रबर्द्धनमा सहयोग पुर्याउने भएकाले महोत्सवमा चलचित्रलाई पनि समेटिएको आयोजक समितिका अध्यक्ष धौरालीको भनाई छ । उनका अनुसार महोत्सवमा मेचीका चार जिल्लाभित्रका पर्यटकीय गन्तव्यहरुको फोटो प्रदर्शनीसमेत गरिने छ ।
मेची अञ्चलमा कार्यरत सञ्चारकर्मीहरुसँग भर्चुअल सम्बाद गर्दै आयोजकले महोत्सवको बारेमा जानकारी गराएको हो । महोत्सव यो बर्ष इलाममा आयोजना गरिनेछ । उद्योग वाणिज्य संघ, होटल एशोसिएसन, पत्रकार महासंघ, पर्यटनसँग सम्बद्ध संघसंस्थाहरु लगायत २१ वटा संस्थाको संयुक्त आयोजनामा महोत्सव हुन लागेको हो ।