बचत–ऋणले मात्र तीन खम्बे अर्थनीतिको मर्म पूरा हुँदैन : मन्त्री सरावगी
बिर्तामोड । सहकारीहरुले बचत संकलन तथा ऋण प्रवाह मात्र गरिरहँदा राज्यले विकासमा अपनाएको नीजि क्षेत्र–सरकार–सहकारीको तीन खम्बे अर्थनीतिको मर्म पूरा नहुने बताइएको छ । झापाको बिर्तामोड २ मा रहेको सहारा नेपाल साकोस लि.को २७औँ बार्षिक उत्सव कार्यक्रममा बोल्दै प्रदेश १ का भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकाश सरावगीले त्यस्तो धारणा व्यक्त गरेका हुन ।
मन्त्री सरावगीले राज्यले अघि सारेको तीन खम्बे अर्थनीति पूरा गर्न सहकारीले बचत र ऋणको अलवा अन्य क्षेत्रलाई समेत समेट्नु पर्ने बताए । विदेशिने युवालाई स्वदेश मै रोजगारी सिर्जना गर्न तथा उद्यमशिल बनाउन सहकारीले काम गर्नुपर्ने सरावगीको राय थियो । उनले गरिबी निवारणको क्षेत्रमा सहकारीले काम गर्न सक्ने बताउँदै सहकारीहरु उत्पादनमूलक क्षेत्रमा लाग्नु पर्ने सुझाव दिए । काम गर्ने कुरामा कुनै कानुनी जटिलता भए आफूलाई सुझाव दिन आग्रह गर्दै मन्त्री सरावगीले त्यस्ता कानूनी जटिलता हटाएर काम गर्ने वातावरण बनाउन आफू लागि पर्ने बताए । केहि सहकारीले बचत कर्ताको रकम दुरुपयोग गरेका घटना स्मरण गर्दै सरावगीले त्यस्ता बेथिति रोक्न सहकारी संघलाई आग्रहसमेत गरे ।
बार्षिकोत्सवको अवसरमा एटीएम सेवा शुरु

बार्षिक उत्सवको अवसरमा सहाराले एटीएम सेवा शुभारम्भ गरेको छ । सहाराले बिर्तामोड–२ मा रहेको मुख्य कार्यालयपरिसरमा रहेको एटीएम बुथको उद्घाटन गरेको हो । झापाको दुई स्थानमा रहेको सहाराको एटीएम बुथसँगै एससीटी नेटवर्क प्रयोग हुने बैँकका एटीएम बुथबाट पैसा झिक्न सकिने प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीले जानकारी दिए ।
कार्यक्रममा बोल्दै अतिथीहरुले सहाराले सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर गरे । कार्यक्रममा नेपाली कांग्रेसका झापा सभापति देउकुमार थेवे, नेकपा एमालेका जिल्ला अध्यक्ष दिपक कार्की, राप्रपाका जिल्ला अध्यक्ष केशव ओझा लगायतले शुभकामना मन्तव्य राखेका थिए । उनीहरुले सहाराले चाँडै सर्वसम्मत नेतृत्व चयन गर्न सुझाव दिएका थिए ।
२०५२ साल चैत्र २१ गते ३३ जना शेयर सदस्यले संकलन गरेको ३४ हजार रुपैँया पूँजीबाट शुरु भएको सहारा नेपालको २७ औँ बर्षमा आइपुग्दा १ लाख ६० हजार सदस्य र १ अर्ब ६५ करोड रुपैँया शेयर पूँजी पुगेको छ । संस्थाले ६ वटा जिल्लामा ७७ वटा सेवा केन्द्र सञ्चालन गरिरहेको कार्यकारी अधिकृत गिरीले बताए । गिरीका अनुसार लघुवित्तमार्फत महिला शसक्तिकरणमा योगदान गरेबापत सन २०१२ मा सीयुएमआई पर्फरमेन्स अवार्ड र सदस्यहरुको संरक्षणमा काम गरेबापत सन २०२१ स्मार्ट सर्टिफिकेट गरी दुईवटा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ ।