पाँचौ झापा गोल्ड कप : अपराजित बन्यो आर्मी
बिर्तामोड । डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबले पाँचौं संस्करणको नेपाल आइस झापा गोल्डकपको उपाधि जितेको छ । सोमबार भएको फाइनल खेलमा घरेलु टोली झापा–११ लाई २–१ गोलले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो ।

जितसँगै आर्मीले नगद १२ लाख ५५ हजार रुपयाँ प्राप्त गरेको छ भने उपविजेता बनेको झापाले नगद ६ लाख पाँच हजार रुपैयाँमा चित्त बुझाएको छ । आर्मीले योसँगै चौथोपटक झापा गोल्डकपको उपाधि हात पारेको हो ।
आर्मीलाई उपाधि जिताउन टेकबहादुर बुढाथोकी र जर्ज प्रिन्स कार्कीले गोल गरेका थिए । फाइनल खेलको १८ औँ मिनेटमा सुमन अर्यालको पासमा टेकबहादुर बुढाथोकीले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाए । अर्को गोल २१ औँ मिनेटमा जर्ज प्रिन्स कार्कीले गरेका थिए । उनले मैदानको मध्यभागबाट पेनाल्टी एरियामा पाएको बललाई गोलरक्षक अघि बढेको मौकामा गोल गरे ।
३ मिनेटभित्र २ गोल खाएको झापाले त्यसपछि खेल नियन्त्रणमा लियो । उसले दोस्रो गोल खाएको ३ मिनेटमा एक गोल फर्कायो । झापाका विमल घर्तीमगरले हेडमार्फत गोल गरे । शिवे उल्रिचको क्रसमा उनले गोल गर्दै आर्मीसँग गोलअन्तर घटाए ।
फाइनल खेलको म्यान अफ द म्याच टेकबहादुर बुढाथोकी भए । उनले ९ हजार ९९९ रुपैयाँ पुरस्कार पाए । पुरस्कारको प्रायोजन युवा व्यवसायी श्याम प्रसाईंले गरेका हुन् ।
प्रतियोगिताको ‘मस्ट भ्यालुएबल प्लेयर’ झापाका डिफेन्डर देबेन्द्र तामाङ भए ।
उनले यामाहा कम्पनीको एक थान मोटरसाइकल पाए । गोल्डकपको सर्वाधिक गोलकर्ता विमल घर्तीमगरले नगद २५ हजार प्राप्त गरे । उनले प्रतियोगितामा खेलेका तीन खेलमा पाँच गोल गरेका थिए । प्रतियोगिताको बेस्ट डिफेन्डर झापाका मनोज राई, बेस्ट मिड फिल्डर झापाकै आन्दे्रस निया, बेस्ट किपर आर्मीका विकेश कुथु र वेष्ट कोच आर्मीका नवीन न्यौपाने घोषित भए । उनीहरुले जनही २१ हजार रुपैयाँ पाए ।
फाइनल खेलको भाग्यशाली दर्शक चित्र गिरीले महेन्द्र रत्न स्टोरको तर्फबाट १ थान टेलिभिजन प्राप्त गरे । त्यस्तै खेलको सिल्भर स्पोन्सर डिलाइट फुडले दैनिक जस्तै तीन जना भाग्यशाली सहभागीलाई आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरेको थियो ।
झापा गोल्डकप आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले झापाको सानका रुपमा रहेको झापा गोल्डकप आयोजना गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए । उनले प्रतियोगिताबाट झण्डै ५० लाख रुपैयाँ बचत भएको प्रारम्भिक आयव्यय सार्वजनिक गरे । फागुन २१ गते पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको प्रतियोगिता कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले समापन गरे ।