झापा गोल्ड कप : उपाधी हत्याउने दुवै टिमको दाबी
बिर्तामोड । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी नेपाल आइस पाँचौ झापा गोल्ड कपको फाइनल साविक विजेता त्रिभुवन आर्मी र घरेलु टोली झापा ११ बिच भोलि हुँदैछ । चौथो पटक फाइनल पुगेको आर्मी र झापा ११ को उपाधी हत्याउने आआफ्नै दावी छ । फाइनलको पूर्व सन्ध्यामा आइतबार आयोजित प्रिम्याच प्रेस कन्फेरेन्समा दुवै टिमले आफूले उपाधी उचाल्ने दावी पेश गरेका हुन् ।
बिर्तामोडस्थित होटल किङ्ग्स बेरीमा आयोजित प्रेस कन्फेरेन्समा बोल्दै झापा ११ का प्रशिक्षक सन्तोष तामाङले यो संस्करण जित्ने संकल्पका साथ आफूहरु आएको बताए । उनले भने,‘हामी जित्छौँ, हामीले जित्ने संकल्प लिएका छौँ ।’ आर्मी आफूहरुको प्रतिद्वन्दी भएको र जित्नका लागि रणनीति बनाएको झापा ११ का क्याप्टेन विशाल राईले बताए । झापा ११ ले शुरुको खेलहरु भन्दा पछिल्लो खेलहरुमा राम्रो सुधार गरेको राईको भनाई छ । टिमका खेलाडीहरु नयाँ भएकाले तालमेल मिलाउन समय लागेको भएपनि भोलिको खेल जित्नेमा आफू विश्वस्त रहेको उनले बताए ।
यता त्रिभुवन आर्मीका प्रशिक्षक नविन न्यौपानेले झापाको यो रंगशाला आफूहरुलाई घरेलु मैदान जत्तिकै भइसकेका कारण भोलिको खेल जित्नेमा विश्वस्त रहेको बताए । उनले भने,‘यो रंगशाला घरेलु मैदान झैँ लाग्छ, अहिलेसम्म जितेर जान्छौँ भन्ने लागेको छ ।’ आर्मीको खेलपनि दैनिक सुधार भइरहेको न्यौपानेले बताए । साविक झापा ११ भन्दा यस पटकको झापा ११ मा खेलाडीहरु मिश्रित रहनु आर्मीका लागि फाइदाजनक रहेको उनको भनाइ छ । आर्मीका नवयुग श्रेष्ठले चोटका कारण लामो समय खेल्न नपाएको भएपनि जितका लागि अधिकतम प्रयत्न गर्ने बताए । झापा ११ बलियो प्रतिद्वन्दी भएपनि पाँचौ संस्करणपनि आर्मीले जित्ने कोशिस गर्ने बताए ।
कार्यक्रममा झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेतले झापा ११ का विशाल राई ‘ए’ लाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिने जानकारी दिए । यो अवार्ड सरप्राइजको रुपमा घोषणा गरेको अध्यक्ष बस्नेतले बताए ।
फाइनल खेल हेर्न राष्ट्रिय प्रशिक्षक अलमुताइरीपनि आउने
भोलि हुने फाइनल खेल हेर्न नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी झापा आउने भएका छन् । उनले झापा आउनेबारे आफ्नो फेसबुक स्टाटसमा समेत उल्लेख गरेका छन् ।
प्रतियोगितालाई थप उत्साह प्रदान गर्न उनलाई झापा बोलाइएको झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए । उनी खेल अवधिभर मैदानमा रहने छन् । कुवेतका प्रो लाइसेन्स प्राप्त प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएपछि नेपालले पहिलोपटक साफ च्याम्पियनसिप फुटबलको फाइनल खेलेको थियो ।