२०८३ बैशाख ५ गते , शनिबार

हात्तीपाइले रोग बिरुद्धको औषधी खाँदा सामान्य असर देखिए प्रभावकारी मानिने

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन २७ गते , शुक्रबार
हात्तीपाइले रोग बिरुद्धको औषधी खाँदा सामान्य असर देखिए प्रभावकारी मानिने

बिर्तामोड । सरकारले संचालन गरेको हात्तीपाइले रोग बिरुद्धको आम औषधी सेवन गर्दा सामान्य असर देखिए त्यसलाई प्रभावकारी मानिने बताइएको छ । राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियानअन्तर्गत पत्रकार अन्तरक्रियामा उक्त जानकारी दिइएको हो ।
पालिकास्तरीय हात्तीपाइले रोग बिरुद्धको आम औषधी सेवन सम्बन्धि शुक्रबार बिर्तामोड नगरपालिकामा आयोजित
अन्तरक्रियामा स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौँलागाईले औषधी सेवन पश्चात्  सामान्य टाउको दुख्ने, पेट दुख्ने र वाकवाकी लाग्ने समस्या हुनसक्ने जानकारी दिए । यदि कुनै ब्यक्तिमा त्यस्तो लक्षण देखिए औषधी सेवनले प्रभावकारी काम गरेको मानिने बताए । 'कसैलाई त्यस्तो समस्या देखिए त्यो राम्रो हो,' उनले भने 'शरिरमा किटाणु भए औषधीले काम गर्न थाल्दा त्यस्तो समस्या देखिन सक्छ ।' तर, त्यस्तो समस्या केही घण्टामा हराएर जाने उनले बताए ।
झापामा २०१२ देखि हात्तीपाइले बिरुद्धको औषधी सेवन कार्यक्रम संचालन हुँदै आएको छ । सन २००१ मा झापामा हात्तीपाइलेको २४ प्रतिशत बिरामी थिए तर सो संख्या २०२० मा ३ प्रतिशतमा झरेको स्वास्थ्य कार्यालय झापाका प्रमुख योगराज घिमिरेले जानकारी दिए । यो संख्या दुई प्रतिशतमा झार्न सकिए अब एक चरणमा अभियान सम्पन्न हुने घिमिरेको भनाई छ । अज्ञानताका कारण मानिसहरुले औषधि सेवन नगर्दा बर्सेनि ठूलो धनराशि यो अभियानमा खर्चनु परेको घिमिरेले बताए । औषधि सेवन गराउन ६/६ सय स्वयंसेवक र कर्मचारी गाउँगाउँ तथा घर घर पुग्ने बताउँदै कार्यालय प्रमुख घिमिरेले सबै नागरिकले औषधी सेवन गर्न आग्रह गरे ।
सात दिनको सुत्केरी, दुई बर्षभन्दा तलको बालबालिका र सिकिस्त बिरामी बाहेक सबैले औषधी सेवन गर्न मिल्ने बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाका तुलसी पोख्रेलले जानकारी दिए । बिर्तामोड नगरपालिकाका नगर प्रमुख ध्रुव शिवाकोटी, उपप्रमुख पवित्रा महतरा लगायतले औषधी सेवन गरेर बिर्तामोडमा हात्तीपाइले रोग बिरुद्धको आम औषधी सेवन अभियानको सुरुवात समेत गरे । 

सम्बन्धित समाचार