झापा गोल्ड कप : आज महिलाहरुलाई प्रवेश निशुल्क
बिर्तामोड । झापाको डोमालाल राजवंशी रंगशालामा जारी गोल्ड कपमा आज महिलाहरुलाई प्रवेश निशुल्क गरिएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपाल आइस पाँचौ झापा गोल्ड कप हेर्न महिलाहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको हो ।
‘नारीहरुलाई अवसरमात्र हैन सम्मानपनि गर्नुपर्छ,’ गोल्ड कपका अध्यक्ष विनोद बस्नेतले भने,‘उहाँहरुको सम्मान स्वरुप फुटबलको मनोरञ्जनका लागि आज विना टिकट महिलाहरुलाई प्रवेश गर्न दिनेछौँ ।’ जारी गोल्ड कपमा आज संकटा क्लब र थ्रीस्टार क्लबबिच खेल हुने आयोजकले जनाएको छ । संकटाले नेपाल पुलिस क्लबलाई पराजित गरेर क्वार्टर फाइनल प्रवेश गरेको थियो ।
प्रतियोगितामा सहभागीहरुलाई गोलाप्रथाबाट डिलाइट फुडको तर्फबाट दैनिक तीन जना भाग्यशाली दर्शकलाई आकर्षक गिफ्ट ह्याम्परको व्यवस्था गरिएको कम्पनीका प्रदेश १ सेल्स अफिसर सागर रिजालले जानकारी दिए । डिलाइटले कार्यक्रमका प्रमुख अतिथी र दुवै टिमका म्यानेजरहरुलाई दैनिक आकर्षक मायाको चिनो समेत प्रदान गर्दै आएको छ ।
प्रतियोगिताको फाइनल फागुन ३० गते हुने झापा गोल्ड कपका महासचिव गजेन्द्र पौडेलले जानकारी दिए । पौडेलका अनुसार प्रतियोगिताको विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख पाँच हजार रुपैँया प्राप्त गर्ने छन् । मस्ट भ्यालुएवल प्लेयरले एक थान मोटरसाइकल पाउने छन् । प्रतियोगिताका उदीयमान खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकले २१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् भने उच्च गोलकर्तालाई नगद २५ हजार दिइनेछ । प्रत्येक खेलको म्यान अफ द म्याचले नगद ९ हजार ९९९ रुपैयाँ पाउनेछन् ।