२०८३ बैशाख ५ गते , शनिबार

हिउँद लागेपछि इलाम तथा पाँचथरमा विद्युत् उत्पादन घट्यो

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन २० गते , शुक्रबार
हिउँद लागेपछि इलाम तथा पाँचथरमा विद्युत् उत्पादन घट्यो

इलाम । पूर्वी पहाडी जिल्लाहरु इलाम र पाँचथरका जलविद्युत् आयोजनाको उत्पादन आधाभन्दा धेरै घटेको छ। हिउँद याममा खोलामा पानीको मात्रा कम भएपछि विद्युत् उत्पादन घटेको हो।  
इलामको गोदकस्थित विद्युत् सब–स्टेसनमा अहिले इलामका १० जलविद्युत् आयोजनाबाट उत्पादित ३७ मेगावाट विद्युत् रेकर्ड भइरहेको छ। आयोजनाहरूको कुल क्षमता ९७ मेगावाट रहेपनि विद्युत् उत्पादन आधाभन्दा थोरै रहेको सब–स्टेसनका कर्मचारीले बताए।  
उनका अनुसार २५.८ मेगावाट क्षमताको पञ्चकन्या जलविद्युत् आयोजनाबाट ५ मेगावाट उत्पादन हुँदैछ। २९ मेगावाटको सानिमा माईबाट ७.८, १२ मेगावाटको सगरमाथाबाट २.९, ९.५ मेगावाटको माइबेनीबाट २.१ / ६.२ मेगावाटको तल्लो जोगमाईबाट १.१ मेगावाट, ७.६ मेगावाटको जोगमाईबाट १.२ /६.२ मेगावाटको पुवाखोलाबाट २.४  मेगावाट उत्पादन भइरहेको छ। पाँचथरको फिदिमबाट पनि १/२ मेगावाट विद्युत् गोदकस्थित सब–स्टेसनमा आउने गरेको छ। पाँचथरका आयोजनाको उत्पादन भने यहाँबाहेक अरू स्टेसनमा पनि जान्छ।  
यहाँ संकलन भएको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिन्छ। यहाँबाट दानाबारी र नयाँबजारस्थित स्थानीय फिडर तथा तिल्केनी सब–स्टेसनमा पनि विद्युत् पठाइने गरेको उनले जनाए। तर, इलामकै दोलखा जलविद्युत् आयोजनाको विद्युत् उत्पादन तिल्केनी सब–स्टेसनमा जोडिएको छ। १ मेगावाटको दोलखा क्यासकेडको उत्पादन भने गत कात्तिकको बाढी–पहिरोले बन्द छ। जोशी र पुवाखोला–१ जलविद्युत् आयोजनाको उत्पादन चाहिँ तिल्केनीमा जोडिएको छ।  
गतवर्षको यही समयको तुलनामा चाहिँ अहिले विद्युत् उत्पादन बढेको उनले बताए। ‘पोहोर यतिबेला १६/१७ मेगावाट उत्पादन थियो,’ उनले भने, ‘यसबीचमा अरू जलविद्युत् आयोजनाको उत्पादन पनि यहाँ जोडियो। तर, त्यसलाई घटाउँदा पनि पोहोरको तुलनामा अहिले उत्पादन बढेकै देखिन्छ।’ गतवर्षभन्दा यो वर्ष खोलामा पानीको मात्रा  बढी भएकाले उत्पादन पोहोरको तुलनामा थपिएको स्ब स्टेशनका इलेक्ट्रीकल फोरम्यान महेशकुमार शाहले बताए। 

सम्बन्धित समाचार