तीन नयाँ सहित १० दल दर्ता
काठमाण्डौ । वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनका लागि थप तीन दल दर्ता भएका छन् । आयोगले स्थानीय तह निर्वाचनमा भाग लिन दल दर्ता गर्नुपर्ने प्रावधानसहित तोकेको समयमा थप तीन दलले स्थानीय निर्वाचन प्रयोजनका लागि दल दर्ताका लागि निवेदन दिएका हुन् ।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३, राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ तथा प्रचलित संघीय कानून बमोजिमका प्रावधान पालना गर्ने शर्तमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ र ५ बमोजिम नेपाल कम्यूनिष्ट पार्टी (गौरवशाली), साझा पार्टी, नेपाल र समावेशी लोकतान्त्रिक पार्टी आयोगमा दर्ता भएका हुन् । योसँगै आयोगमा हालसम्म दर्ता हुने राजनीतिक दलहरूको संख्या १०९ पुगेको छ ।
आयोगको मिति २०७८/११/५ गते स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन गरेपछि हालसम्म दश वटा राजनीतिक दलहरुले निर्वाचनमा भाग लिन दर्ता हुन निवेदन दिएका छन् । यसरी निवेदन दिनेहरूमा जनमत पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय नागरिक पार्टी, जनता प्रगतिशिल पार्टी नेपाल, नेपाल लोकतान्त्रिक पार्टी, देशभक्त समाज, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी र मौलिक जरोकिलो पार्टी रहेका छन् । नेपाली काँग्रेस, एमाले र माओवादीलगायतका ठूला पार्टीले भने अझै दल दर्ता गरिसकेका छैनन् ।