झापा गोल्ड कपको टाइटल स्पोन्सर चौधरी ग्रुपले गर्ने
बिर्तामोड । आगामी फागुन २१ गतेदेखि झापा बिर्तामोडस्थित डोमालाल रंगशालामा हुन लागेको पाँचौ झापा गोल्ड कपको टाइटल स्पोन्सर चौधरी ग्रुपको उत्पादन नेपाल आइसले गर्ने भएको छ । टाइटल स्पोन्सरका लागि आइतबार चौधरी ग्रुप र झापा गोल्ड कपबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
नेपाल आइसका ब्राण्ड तथा सिनियर मार्केटिङ मेनेजर मनिस सिंह र झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेतबिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । अबको संस्करण नेपाल आइस पाँचौँ झापा गोल्ड कपको टाइटलमा सञ्चालित हुने छ । गोल्डकप फागुन २१ देखि ३० गतेसम्म सञ्चालन हुने छ ।
खेलका लागि रंगशालामा करिब १० हजार दर्शक आँट्ने गरी बाँसको प्यारापिट निर्माण कार्य अन्तिम चरणमा पुगेको अध्यक्ष बस्नेतले जानकारी दिए । पाँचौँ संस्करणको झापा गोल्डकपको विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले नगद छ लाख पाँच हजार रुपैयाँ प्राप्त गर्नेछ । गोल्ड कप सम्पन्न गर्न एक करोड ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
प्रतियोगिताको मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड्फिल्डर र उत्कृष्ट प्रशिक्षकलाई नगद २१ हजार र उच्च गोलकर्तालाई नगद २५ हजार प्रदान गरिनेछ । प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद ९ हजार ९९९ रुपैयाँ दिइने आयोजकले जनाएको छ ।
प्रतियोगितामा आयोजक झापा ११ फुटबल क्लब, विभागीयसहित नेपालका ए डिभिजन क्लब र विदेशी क्लबसहित १० वटा टिमको सहभागिता रहने बताइएको छ ।
गोल्डकप झापालीको प्रतिष्ठासँग गाँसिएकाले सम्पूर्ण उद्योगी, व्यवसायी तथा आमसमुदायलाई सहयोगका लागि अध्यक्ष बस्नेतले आग्रह गरे ।