झापा गोल्डकपको मस्कट, नारा र गीत सार्वजनिक

बिर्तामोड । पाँचौं संस्करणको झापा गोल्ड कप २०७८ को मस्कट, नारा र गीत सार्वजनिक भएको छ । आगामी फागुन २१ देखि झापा बिर्तामोडस्थित डोमालाल रंगशालामा संचालन हुन लागेको गोल्ड कपको मस्कट, नारा र गीत सार्वजनिक भएको हो । झापा ११ का संरक्षक जलकुमार गुरुङ्गले मस्कट सार्वजनिक गरेका थिए ।
कलाकार पवन राजवंशीले बनाएको मस्कटमा हात्तीको छावाले फुटबल हान्दै गरेको छ । गोल्ड कपले हाम्रो गौरव, हाम्रो मान झापा गोल्ड कप हाम्रो सान भन्ने नारासमेत सार्वजनिक गरेको छ ।
गोल्ड कपलाई उत्कृष्ट, भव्य र परिष्कृत बनाउन पहिलोपटक औपचारिक गीत सार्वजनिक गरेको हो । अफिसियल गीतमा डम्बर नेपाली, भिषण मुकारुङ, सुनिता थेगिम र दिपा लामाको स्वर रहेको बताइएको छ ।
प्रतियोगिताका लागि आवश्यक तयारी भैरहेको गोल्ड कपका अध्यक्ष बिनोद बस्नेतले जानकारी दिए । बस्नेतले गोल्ड कप सम्पूर्ण झापालीकै प्रतिष्ठासँग जोडिएको बिषय भएकाले सहयोगका लागि आह्वान गरेका छन ।