उत्पादकले उत्पादन बढाएसँगै सहज बन्दै सिटामोल
काठमाडौँ । कोरोना संक्रमणका बिरामीलाई प्रयोग हुने सिटामोल कोभिड तेस्रो लहरसँगै बजारमा अभाव देखिएको थियो । सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेड र स्वदेशी उत्पादनकर्ताहरूले उत्पादन बढाएसँगै बजारमा सिटामोल पाइन थालेको छ ।
आपूर्ति व्यवस्था र बजार अनुगमन गर्न मुख्य दायित्व पाएका वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार ६ फार्मेसीमा अनुगमन गर्दा चारवटामा सिटामोल भेटिएको छ । ‘साताअघिसम्म बजारमा समस्या नै थियो, फार्मेसीहरूमा सिटामोल अत्यन्त कम देखिन्थ्यो,’ विभागका निरीक्षण अधिकृत धनेश्वर पौडेलले भने, ‘अब अभाव कम हुँदै गएको छ । ६ वटा फार्मेसीमा अनुगमन गर्दा कम्तीमा चारवटामा भेटिएको छ ।’
पौडेलका अनुसार बुधबार बी एन्ड बी अस्पताल क्षेत्रका दुई फार्मेसीमा अनुगमन गर्दा दुवैमा सिटामोल भेटिएको थियो । मंगलबार चाबहिल क्षेत्रका ६ फार्मेसीमा अनुगमन गर्दा ४ वटामा सिटामोल थियो । सोमबार टिचिङ अस्पताल क्षेत्रमा अनुगमन गर्दा पनि अभाव कम हुँदै गएको पौडेलले बताए । ‘फार्मेसीहरूले बिरामीको गम्भीरताको आधारमा एउटा व्यक्तिलाई एक पत्ता सिटामोल दिएका छन्,’ उनले भने, ‘एउटा व्यक्तिलाई एउटा मात्रै दिँदा उपलब्धता देखियो ।’
सरकारले अनुगमन तीव्र बनाएपछि अहिले फार्मेसीहरूले औषधि लुकाएका छैनन् । अभाव पनि कम हुँदै गएको विभागका प्रवक्ता हरि पंगेनीले बताए । ‘सरकारी निकायले अनुगमन बढाएपछि होलसेलले फार्मेसीलाई सिटामोल उपलब्ध गराएका छन् । औषधि उत्पादक कम्पनीहरूले पनि उत्पादन बढाएका छन्,’ पंगेनीले भने, ‘त्यसको प्रभाव बजारमा देखिएको छ । साताअघि धेरै समस्या थियो, अहिले त्यति समस्या छैन । बिस्तारै पाइएको छ ।’
बजारमा अभाव भएपछि गत बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाले सिटामोललगायत औषधिको सहज आपूर्ति व्यवस्था मिलाउन गृहमन्त्री बालकृष्ण खाँण र मुख्यसचिव शंकर बैरागीलाई निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनपछि मुख्यसचिव बैरागीले स्वास्थ्य मन्त्रालयलाई औषधि उत्पादन र आपूर्ति तीव्र पार्न निर्देशन दिएका थिए । लगत्तै औषधि व्यवस्था विभागमा औषधि लिमिटेड, औषधि उत्पादक संघ, नेपाल औषधि व्यवसायी संघ, पैठारीकर्तासहित छलफल भएको थियो । त्यस क्रममा सबैले आ–आफ्नो तर्फबाट उत्पादन र आपूर्ति गर्ने प्रतिबद्धता जनाएका थिए ।
यहीबीचमा सर्वोच्च अदालतले पनि सिटामोललगायतका औषधिको सहज वितरणको व्यवस्था मिलाउन सरकारका नाममा आन्तरिम आदेश जारी गरेको थियो । त्यसपश्चात पनि कम्पनीहरू तातेका हुन् । औषधि व्यवस्था विभागका अनुसार नेपालमा औषधि उत्पादन गर्ने २५ उद्योग छन् । ती उद्योगले क्षमताअनुसार उत्पादन गर्ने जनाएका छन् । आयातकर्ता १२ वटा छन् । जसमध्ये एउटा आयातकर्ताले आयात गरिरहेको जनाएको छ । नेसनल हेल्थ केयर र नेपाल औषधि लिमिटेडले पनि प्रतिबद्धताअनुसार औषधि उपलब्ध गराएको औषधि व्यवस्था विभागले जनाएको छ ।
लिमिटेडका महाप्रबन्धक मोहम्मद साइफुल्लाले औषधि उत्पादन धमाधम भइरहेको जानकारी दिए । ‘गत बुधबार औषधि व्यवस्था विभागमा भएको छलफलमा ७ दिनमा १० लाख ट्याब्लेट उपलब्ध गराउने प्रतिबद्धता जनाएका थियो । औषधि लिमिटेडले बुधबार ९१२ गतेसम्म० साढे १२ लाख ट्याब्लेट आपूर्ति गरेको छ,’ उनले भने, ‘थप १६ लाख ५९ हजार ९१ ट्याब्लेट मौज्दात छ ।’
महानिर्देशक साइफुल्लाका अनुसार औषधि लिमिटेडले थापाथली, महाराजगन्ज, पाटन, टेकु, वीर अस्पताल क्षेत्रका फार्मेसीहरूमा उक्त ट्याब्लेट उपलब्ध गराएको छ । लिमिटेड घाटामा गएपछि सिटामोल उत्पादन बन्द गरेको थियो । लिमिटेडको घाटा पूर्ति गर्न बोर्डले अर्थ मन्त्रालयसँग १ करोड ६ लाख माग गरेको थियो । अर्थबाट स्रोत सुनिश्चित नभएपछि औषधि लिमिटेड पर्ख र हेरको अवस्थामा थियो । अहिले बजारमा सिटामोल अभाव भएपछि पुनः उत्पादन सुरु गरेको लिमिटेडले जनाएको छ ।