चुनावबारे छलफल गर्न सत्तारुढ राजनीतिक समन्वय समितिको बैठक आज
काठमाण्डौ । सत्तारूढ पाँच राजनीतिक दलको बैठक आज (शुक्रबार) पनि बस्ने भएको छ ।
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल संयोजक रहेको सत्तारूढ राजनीतिक समन्वय समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह ४ बजे बस्ने गरी बोलाइएको हो ।
यसअघि बिहीबार अपरान्ह प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको थियो ।
वैशाखमा स्थानीय तहको चुनाव गर्ने कि तीनै तहको चुनाव एकैपटक वैशाखमा गर्ने कि वैशाखमा संघीय चुनाव गर्ने भन्ने जस्ता विभिन्न प्रस्ताव आइरहेका बेला राजनीतिक समन्वय समितिको बैठक बस्न लागेको हो ।
समितिमा सरकारका एक मन्त्रीसहित गठबन्धनका ५ दलबाट २/२ जना सदस्य छन् ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले स्थानीय तह चुनाव वैशाखमै गरिनुपर्ने बताइरहेको छ । संविधानअनुसार ५ वर्ष कार्यकाल सकिएको छ महिनाभित्र स्थानीय तहको चुनाव गर्नुपर्ने उल्लेख भए पनि स्थानीय तह निर्वाचन ऐनअनुसार भने कार्यकाल सकिनुभन्दा दुई महिनाअगाडि नै निर्वाचन गरिसक्नुपर्छ ।
सत्तागठबन्धनले भने निर्वाचन ऐनको व्यवस्था संविधानसंग बाझिने देखिएकोले ऐनलाई संविधानअनुसार हुने गरी व्यवस्था गरिनुपर्ने पनि बताइरहेका छन् ।