हचुमासा सामुदायिक वन अध्यक्षमा पहिलो पटक कांग्रेसका चन्द्रप्रसाद प्रसाई निर्वाचित
बिर्तामोड । झापाकै ठूलो मध्येको अर्जुनधारा १ स्थित हचुमासा सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा चन्द्रप्रसाद प्रसाई निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनबाट नेपाली कांग्रेस तर्फका उम्मेदवार प्रसाई ३१० मत सहित विजयी भएको निर्वाचन समितिले जनाएको छ । अध्यक्ष पदका अन्य उम्मेदवारहरु नयनकुमार अधिकारीले २५५ र विजेन्द्रकुमार एक्तेनले २४२ मत प्राप्त गरेका थिए ।
समितिको उपाध्यक्षमा सन्तबहादुर मगर विजयी भएका छन् । मगर ३१९ मत सहित विजयी बने । उपाध्यक्ष पदका अन्य उम्मेदवारहरु विश्वनाथ चम्लागाई १६१ र भरतबहादुर सुब्बाले २६९ मत प्राप्त गरेका थिए ।
समितिको सचिवमा प्रभा नेपाल ३३३ सहित विजयी बनिन् । अन्य उम्मेदवारहरु पुजा तिम्सिना खड्काले १६३ र पदममाया मैनालीले २०७ मत प्राप्त गरे । सहसचिवमा देउकुमार नेम्बाङ २६२ ल्याएर विजयी बने । सहसचिवका अन्य उम्मेदवारहरु यामबहादुर राईले २१२ र कुलबहादुर घिमिरेले १८८ प्राप्त गरेका थिए ।
कोषाध्यक्षमा रामसिंह लिम्बु निर्वाचित भएका छन् । उनी २७६ मत सहित विजयी बनेका हुन् । अन्य उम्मेदवारहरु वेदराज वाग्लेले २६९, लेखनाथ अधिकारीले ९६ र रेशबहादुर एक्तेन ३९ मत प्राप्त गरे ।
चारजना महिला सदस्यहरु होमकुमारी गौली (गोमा) २८६, कुमारी बुर्जा मगर २७८, लिलामाया ठकुरी २६९ र मिना विश्वकर्मा २५१ मत सहित विजयी बने । महिला सदस्य पदका अन्य उम्मेदवारहरु सीता आचार्य खतिवडा २२६, सुनिता थापा ११२, जमुनाकुमारी फुँयाल २०७, हरिप्रिया काफ्ले १८८, लक्ष्मी बुर्जा १०१, शान्ता लिम्बुले २०८ मत प्राप्त गरेका थिए ।
दलित सदस्यमा मानबहादुर विश्वकर्मा ३५६ मत ल्याएर विजयी बने । अर्का दलित सदस्य टीकाबहादुर दर्जीले २२५ प्राप्त गरेका थिए ।
खुला पुरुषतर्फ कुमारबहादुर बस्नेत २५५ र अमृतबहादुर गौली २०९ मत सहित विजयी बने । अन्य सदस्यहरु प्रेमबहादुर लामिछाने १५९, रामबहादुर कडरिया ९३, खड्गबहादुर लिम्बु १४२, सुमन थापा ९६, छन्दुराम खतिवडा १०९ र गोपाल खड्काले ५४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
जनजाति सदस्य तर्फ जगतबहादुर एक्तेन ३४३ मत प्राप्त गरी निर्वाचित भए । अर्का सदस्य सुमन मगरले २३३ मत प्राप्त गरेका थिए ।
कुल ९९५ घरधुरी उपभोक्ता रहेको वनको निर्वाचनमा ८४१ मत खसेको थियो ।
सोमबार ९ बजेबाट शुरु भएको मतगणना मंगलबार विहान साढे ३ बजे सकिएको स्थानीय नगेन्द्र काफ्लेले जानकारी दिए ।
वनको नेतृत्वमा पहिलो पटक कांग्रेस पुगेको हो । यसअघि वनको नेतृत्वमा एमाले हावी हुँदै आएको उपभोक्ता प्रेम निरौलाले बताए ।
यो निर्वाचनबाट नेकपा एमालेले सहसचिव र अन्य २ महिला र १ पुरुष सदस्यमात्र जितेको छ । सहसचिव नेम्बाङ, महिला सदस्यहरु कुमारी बुर्जा मगर, मिना विश्वकर्मा र पुरुष सदस्य कुमारबहादुर बस्नेत नेकपा एमालेका हुन् । पदाधिकारीमा उपाध्यक्षमा विजयी मगर नेकपा माओवादी केन्द्रका हुन भने बाँकी पदाधिकारी नेपाली कांग्रेसले जितेको हो ।
वनका निवर्तमान अध्यक्ष र वडाध्यक्षले राम्रो काम गर्न नसकेका कारण नेकपा एमालेले नेतृत्व गुमाउनु परेको स्थानीयहरु बताउँछन् । नेकपा एमाललेको संख्या बढी रहेको र काम गरेपनि नगरेपनि आफ्नै नेतृत्व आउने अहम्ताका कारण यो परिणाम आएको उनीहरुको भनाई छ ।
२०५४ सालमा स्थापना भएको अर्जुनधारा १ स्थित हचुमासा सामुदायिक वन ८७५ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।