बसपार्कभित्र गाडी प्रवेश गराउनुपर्ने मागसहित व्यवसायीले बुझाए बिर्तामोडमा ज्ञापन पत्र
बिर्तामोड । बिर्तामोडस्थित टेकबहादुर गिरी बसपार्कमा यात्रुबाहक सवारी साधनहरु प्रवेश गराउनुपर्ने भन्दै बसपार्कका व्यवसायीले बिर्तामोड नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् । व्यवसायीहरुले एक संघर्ष समिति नै बनाएर ३ बुँदे मागसहित ज्ञापन पत्र बुझाएका हुन् ।
पछिल्लो समय बसपार्क प्रवेश नगराई यात्रुबाहक सवारीसाधनहरु बाहिरबाटै कुद्दा यात्रुलाई असहज हुनुका साथै बसपार्क क्षेत्रभित्र रहेका व्यापारीहरु मर्कामा परेकाले ज्ञापन पत्र बुझाइएको संघर्ष समितिका संयोजक गोविन्द तामाङले जानकारी दिए । तामाङका अनुसार बसपार्क भित्र यात्रुहरुको सहजताका लागि ठूलो लगानीमा होटल लज, किराना तथा नास्ता पसल, फलफुल, जुत्ताचप्पल, हार्डवेयर लगायतका व्यवसाय सञ्चालन भइरहेको छ । तर, यात्रुबाहक सवारी साधन बसपार्क भित्र प्रवेश नगरी यात्रुहरुलाई बाहिरबाटै ओराल्ने तथा चढाउने गर्दा व्यवसाय सञ्चालनमा कठिनाई भएको तामाङको भनाई छ ।
बसपार्कभित्र यात्रुबाहक सवारी साधन प्रवेश गराउनु पर्ने सामान्य नियमसमेत पालना नगरिनुले यस क्षेत्रमा बसपार्क सञ्चालन गर्नु अर्थहिन हुने विज्ञप्तिमा उल्लेख छ । भौतिक संरचनाले मात्र बसपार्क नबन्ने तर व्यवस्थित आवागमनसहितको बसपार्क सञ्चालन भनेको स्थानीय विकासको सूचकसमेत भएको उल्लेख गर्दै सो प्रति सम्बन्धित निकाले बेवास्ता गरेको संघर्षसमितिको बुझाई छ । समितिले पटक पटक बिर्तामोड नगरपालिकामा यस बिषयमा जानकारी गराएको भएपनि बेवास्ता गरेको भन्दै तीन बुँदे मागसहित ज्ञापन पत्र बुझाईएको तामाङले बताए ।
संघर्ष समितिले सम्पूर्ण यात्रुबाहक सवारी साधनहरु नियमानुसार अनिवार्य बसपार्क प्रवेश गराउनुपर्ने, नियम विपरित र अव्यवहारिक तवरले सवारी साधनले बसपार्क बाहिर यात्रु छोडने र कुरेु यात्रु चढाउने गरेमा अनिवार्य कारबाहीको दायरमा ल्याउनुपर्ने र नेपाल सरकारले लागू गरेको टाइम कार्डलाई बसपार्कमा ल्याएर सञ्चालन र व्यवस्थापन गरिनुपर्ने मागसहित पुष १६ गते बिर्तामोड नगरपालिकामा ज्ञापन पत्र बुझाइएको अध्यक्ष तामाङले जानकारी दिए । तर नगरपालिकाले आफूहरुको मागमा बेवास्ता गरेका कारण पुनः दबावस्वरुप सोमबार नगरपालिकामा आफूहरु गएको उनले बताए ।