इलाम झापा मैत्री समाजद्वारा इलाममा खाद्यान्न वितरण
इलाम । इलाम झापा मैत्री समाज बिर्तामोड नगर समितिले इलामको माइ भगवती बृद्धाश्रम र राहसल बाल अनाथालयमा खाद्यान्न सहयोग गरेको छ । समाजले शुक्रबार युनिभर्सल पिस फेडेरेसनसँगको सहकार्यमा खाद्यान्न वितरण गरेको हो ।
समाजले इलाम नगरपालिका १० माइखोलास्थित माइ भगवती वृद्धाश्रममा १२५ किलो चामल र ५० किलो पिठो उपलब्ध गराएको समाजका अध्यक्ष तिलोत्तमा खत्रीले जानकारी दिइन । त्यस्तै खाने तेल, चना, नुन र चिनी ५/५ किलो र नुहाउने साबुन २० वटा उपलब्ध गराएको समाजका सचिव दिनेश भट्टराईले बताए ।

शुक्रबार नै इलाम ९ स्थित राहसल बाल अनाथालयमा पनि खाद्यान्न तथा जुत्ता वितरण गरिएको थियो । समाजले अनाथालयमा १२५ किलो चामल, ५० किलो पिठो, खाने तेल, चना, नुन, चिनी ५/५ किलो र नुहाउने साबुन २० वटा उपलब्ध गराएको समाजका कोषाध्यक्ष अन्जु लामिछानेले जानकारी दिइन ।
अनाथालयमा समाजले १५ जोर जुत्ता समेत प्रदान उपलब्ध गराएको थियो । बालबालिकाका लागि जुत्ता बिर्तामोडस्थित एसियन फुट वेयरका प्रोपाइटर छवि पौडेलले उपलब्ध गराएका थिए ।
इलाम झापा मैत्री समाज इलाममा जन्मिएर झापाको बिर्तामोडलाई कर्मथलो बनाएर रहेका ब्यक्तिहरुको सामाजिक संस्था भएकाले आफ्नै जन्मथलोमा सानो सहयोग गर्न प्रयत्न गरेको समाजकी अध्यक्ष खत्रीले बताइन । खाद्यान्न वितरण कार्यको संयोजनमा महत्वपूर्ण भूमिका खेलेका समाजका सदस्य नरेश कर्माचार्यले यो सानो सहयोग भएको बताउँदै आगामी दिनमा थप सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रम संयोजनमा महत्वपूर्ण भुमिका खेल्ने स्थानीय यादव अधिकारीले अनाथालयमा हुर्किएर बयस्क भएकाहरुको रोजगारीका लागि समाजले पुलको भुमिका निर्वाह गरिदिन अनुरोध गरे ।
झापामा बसेरपनि जन्मथलो सम्झिएर सहयोग गर्न आइपुगेकोमा समाजलाई माइ भगवती वृद्धाश्रमकी अध्यक्ष अनुजा शिवाकोटी र राहसल बाल अनाथालयका अध्यक्ष राजेन्द्र चौहानले कृतज्ञता ब्यक्त गरे ।
समाजका सदस्य सागर रिजालले संचालन गरेको कार्यक्रममा युनिभर्सल पिस फेडेरेसनका तर्फबाट केदार ढुङ्गानाको उपस्थिति रहेको थियो ।