अटो चालकको निःशुल्क आँखा जाँच
बिर्तामोड । बिर्तामोडमा अटो/टेम्पो चलाउने चालकहरुको निःशुल्क आँखा जाँच गरिएको छ । बिर्तामोडस्थित बिर्ता आइ केयरसँगको सहकार्यमा झापा टेम्पो सर्भिस प्रा.लि.ले चालकहरुको आँखा जाँच गराएको हो ।
दुर्घटना न्यूनिकरणका लागि चालकहरुको आँखा जाँच गराउन अति आवश्यक भएकाले गराइएको झापा टेम्पो सर्भिसका अध्यक्ष गोविन्द तामाङले जानकारी दिए । दुई दिन भएको कार्यक्रममा २८ जना चालकको आँखा जाँच गरिएको बिर्ता आइ केयरका हस्पिटल प्रबन्धक रन्जिता भट्टराईले जानकारी दिइन् । भट्टराईका अनुसार आँखा जाँचको क्रममा औषधीमा ५ प्रतिशत, अपरेशनमा २० प्रतिशत र चश्मामा ४० प्रतिशत छुट दिइएको थियो ।
आइकेयरले टेम्पो चालकहरुलाई निःशुल्क सहुलियत कार्ड बनाइदिने र सो कार्डका आधारमा आजिवन परिवारसमेतको आँखा जाँच निःशुल्क गराउन पाउने भट्टराईले जानकारी दिइन् । जाँचसँगै औषधीमा ५, अपरेशनमा २० र चश्मामा ४० प्रतिशत छुटको सुविधासमेत पाउने उनले बताइन् ।
नेत्ररोग विशेषज्ञ डाक्टर मनिका कर्माचार्यको टिमले आँखा जाँच गरेको थियो । जाँचका क्रममा चालकहरुलाई चश्मा लगाउन सिफारिस गरिएको भट्टराईले बताइन् ।
बिर्ता आइ केयरले विभिन्न विद्यालय तथा संघसंस्थाहरुसँग सहकार्य गरी निःशुल्क आँखा जाँच गराउँदै आएको भट्टराईको भनाई छ ।