राष्ट्रियसभा सदस्यका लागि प्रदेश १ बाट ८ जनाको उम्मेदवारी
विराटनगर । राष्ट्रियसभा सदस्य पदका लागि प्रदेश १ बाट ३ पदका लागि ८ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । नेकपा एमाले, सत्तारुढ गठबन्धन र राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट आठ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । अन्तिम समयमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले २ जनाको उम्मेद्वारी दर्ता गराएको छ ।
यसअघि सत्तारुढ गठबन्धनको तर्फबाट काँग्रेसका गोपालकुमार बस्नेत, नेकपा एकीकृत समाजवादीकी जयन्ती राई र जनता समाजवादीका हेमराज थुलुङ राईले उम्मेदवारी दर्ता गराएका हुन् । यसैगरी एमालेबाट गुरुप्रसाद बराल, सुमित्रा भण्डारी र सोनाम ग्याल्जेन शेर्पाले उम्मेदवारी दर्ता गराएका छन् ।
राष्ट्रियसभा सदस्य पदका लागि प्रदेश १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले छुट्टै मनोनयन दर्ता गराएको छ । राप्रपाको तर्फबाट झापाका अमर विष्टले खुला र रञ्जु प्याकुरेलले महिलातर्फ उम्मेदवारी दर्ता गराएका हुन् । उनीहरुले निर्वाचन अधिकृतको कार्यालय विराटनगरमा मनोनयन दर्ता गराएका हुन् ।
प्रदेशसभाका एक सांसद र स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष गरी चार जनाको १२० मतभार रहेको राप्रपाले नेकपा एमालेलाई सघाउन सक्ने अनुमान गरिँदै आएको थियो । यद्यपि उसले छुट्टै उम्मेदवारी दर्ता गराएको हो । राप्रपाले अपाङ्गता तथा अल्पसंख्यक तर्फ भने उम्मेदवारी दिएको छैन ।
मंगलबार उम्मेदवारी दर्ताका लागि समय तोकिएको थियो । भोलि उम्मेदवारविरुद्ध उजुरीको कार्यसूची छ भने पुस २२-२३ मा उजुरीमाथि छानबिन हुनेछ ।
निर्वाचनमा भाग लिन १२ वटा दल आयोगमा दर्ता भएका छन् । चार वर्षे कार्यअवधि पुरा गरी रिक्त हुने राष्ट्रियसभाका तीन सदस्यका लागि माघ १२ गते निर्वाचन हुने कार्यक्रम छ ।