राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश १ बाट खुल्ला तर्फका ३ जना उम्मेदवार
बिर्तामोड । आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेससहित नेकपा एमाले र नेकपा एकिकृत समाजवालीले प्रदेश १ बाट ३ जना उम्मेदवारको टुङ्गो लगाएको छ ।
कांंग्रेस केन्द्रीय कार्यसमितिको सोमवार बसेको बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ बाट झापाका गोपालकुमार बस्नेतलाई उम्मेदवार बनाउने तय गरेको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा भएको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले वस्नेतलाई प्रदेश १ बाट उम्मेद्वार बनाउने प्रस्ताव प्रस्तुत गरेका थिए ।
बस्नेत नेपाली कांग्रेस केन्द्रीय समितिका निवर्तमान सदस्य तथा झापाका पूर्व सचिव हुन् ।
त्यस्तै, नेकपा एमालेले पनि राष्ट्रियसभा निर्वाचनको लागि उम्मेदवारको टुङ्गो लगाएको छ । उसले प्रदेश १ बाट मोरङका गुरु बराललाई खुल्ला तर्फको उम्मेदवार बनाउने टुङ्गो गरेको छ । बराल स्थायी कमिटि सदस्य हुन् । एमालेले यसअघि प्रदेश १ बाट झापाका देवराज घिमिरेलाई उम्मेदवार बनाउने भनेपनि अन्तिममा आएर उम्मेदवार परिवर्तन गरेको हो । एमालेले प्रदेश १ बाट महिलातर्फ सुमित्रा भण्डारी र अल्पसंख्यकतर्फ सोनाम ग्याल्जेन शेर्पालाई उम्मेदवार बनाउने भएको छ ।
त्यस्तै नेकपा एकिकृत समाजवादीले पनि राष्ट्रियसभा निर्वाचनका लागि ४ जना उम्मेदवारको नाम टुङ्गो गरेको छ । पार्टीको केन्द्रीय सचिवालय बैठकले प्रदेश १ बाट जयन्ती राईलाई उम्मेदवार बनाउने भएको हो ।