मिडिया सामु ‘निरिह’ बन्दै विज्ञापन बोर्ड
बिर्तामोड । मदिरा तथा सूर्तीजन्य पदार्थको विज्ञापन प्रकाशन तथा प्रसारण गर्ने सञ्चारमाध्यमलाई कारबाही गर्ने चेतावानी दिँदै प्रेस विज्ञप्ति निकालेको विज्ञापन बोर्ड मिडिया सामु …निरिह’ बन्दै गएको छ । सूचना निकालेको लामो समयसम्म पनि बोर्डले सञ्चारमाध्यमलाई कारबाही गर्न सकेको छैन ।
चाडपर्वको समयमा पत्रपत्रिका तथा सञ्चारमाध्यमहरुले मदिरा तथा सूर्तीजन्य पदार्थको विज्ञापन गरेको भन्दै विज्ञापन बोर्डले त्यस्तो विज्ञापन नगर्न र गरेमा कानुन बमोजिम कारबाही गरिने भन्दै कात्तिक २५ गते चेतावनीको भाषामा सूचना निकालेको थियो ।

विज्ञापन बोर्डले जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४५ को उपदफा १ को मदिरा, चुरोट, सूर्ती तथा सूर्तीजन्य पदार्थलगायतका मानवस्वास्थ्यमा प्रतिकूल असर गर्ने कुनैपनि विज्ञापन उत्पादन, वितरण तथा प्रचारप्रसार गर्न पाइने छैन भन्ने कानुनी प्रावधान रहेको बताउँदै प्रेस विज्ञप्ति जारी गरेको थियो ।
यस्तै विज्ञापन ऐनमा पनि प्रचलित कानूनले विज्ञापन गर्न निषेध गरेका विषयमा विज्ञापन गर्न नहुने उल्लेख छ ।
तर, त्यस यता सञ्चारमाध्यमहरुले निरन्तर त्यस्ता मदिराको विज्ञापन प्रकाशन गर्दै आएको भएपनि बोर्डले कारबाही गर्ने आँट गर्न गरेको छैन ।
त्यसो त कोरोनापछि विज्ञापन उद्योग विस्तारै अगाडि बढ्दै गरेको परिप्रेक्ष्यमा ऐनको हवाला दिँदै बोर्डले सरोकारवाला निकायसँग छलफल नै नगरी एकतर्फी निर्णय गरेको भन्दै नेपाल विज्ञापन संघ -आन_ ले मंसिर २७ गते विज्ञप्ति निकालेर त्यसको विरोध गरेको थियो । …एकातर्फ सरकारले राजश्वको दोब्बर गर्ने लक्ष्य राख्नु, अर्कातर्फ भइरहेको व्यापार व्यवसायमा असर गर्ने गरी विज्ञप्ति आउनु विरोधाभाष छ । भर्खरै कोभिडको मारबाट थलिएको व्यवसायीलाई व्यवसाय गर्न बर्जित गर्ने गरी षड्यन्त्रपूर्वक आएको विज्ञप्ति प्रति संघको घोर आपत्ति रहेको छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

ऐन, नियम, कानुन, कार्यविधि र त्यसका व्यवहारिक पक्षलाई सँगसँगै लैजानुपर्ने साथै राज्यको ऐन, नियम, कानुन देश काल र परिस्थिति अनुकूल नभएमा स्वाभाविक रुपमा प्रयोग र उपयोगविहिन भएर जाने आनको विज्ञप्तिमा भनिएको छ ।
आनले यसरी विज्ञापन बोर्डको विज्ञप्तिको विरोध गरेपछि बोर्ड दबाबमा परेको हो ।
बोर्डको विज्ञप्तिको प्रतिक्रिया स्वरुप राष्ट्रिय पत्रपत्रिकाहरुले एकै दिन मदिराको विज्ञापनलाई ज्याकेट पेजमा प्रकाशित नै गरे ।
विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले बोर्डको सूचनालाई अटेर गरी मदिराजन्य पदार्थको विज्ञापन गर्ने पत्रपत्रिका, विज्ञापन एजेन्सी र विज्ञापनदातालाई कानूनबमोजिम कारबाही गरिने बताएका थिए ।
तर त्यसपछि पनि मदिराको विज्ञापन प्रकाशन प्रसारण भने रोकिएको छैन ।