तमु ल्होसार महिला गोल्डकपको उपाधी धरानलाई
बिर्तामोड । बिर्तामोडस्थित डोमालाल रंगशालामा सम्पन्न तमु ल्होसार गोल्डकप अन्तर्राष्ट्रिय महिला नकआउट फुटबल प्रतियोगिताको उपाधी धरान महिला फुटबल क्लब सुनसरीले जितेको छ । पाँचथरको श्री सिंहदेवी डोलो फुटबल क्लबलाई हराउँदै धरानले उपाधी हात पारेको हो ।
खेल अवधिभर दुवै टिमले गोल गर्न नसकेपछि उपाधिको नतिजाका लागि सडन डेथमा जानु परेको थियो । फाइनल खेलमा पाँचथरको श्री सिंहदेवी ङोलो फुटबल क्लबलाई धरानले सडन डेथमा २–१ को गोल अन्तरले गोल गर्दै उपाधी उचालेको हो ।
खेलको विजेता धरानले नगद १ लाख ११ हजार १११, ट्रफी र मेडल पाएको छ । उपविजेता टोली पाँचथरले ५१ हजार १११ रुपैयाँ ट्रफी र मेडल प्राप्त गरेको छ ।
खेलका प्लेयर अफ दी म्याच पाँचथरकी प्रमिला राई घोषित भइन् । त्यस्तै, प्रतियोगिता अवधिभरको बेस्ट फरवार्ड धरानकी समिक्षा मगर, बेस्ट मिड फिल्ड पाँचथरकी प्रमिला राई, बेस्ट डिफेन्स पाँचथरकी रोश्नी क्षेत्री, बेस्ट गोल किपर धरानकी सीमा आले मगर, बेस्ट कोच धरानकी भगवती राना मगर भए । प्रतियागिताभरकी सर्वोत्कृष्ट खेलाडी धरानकी समिक्षा मगर भइन् ।
पाँचथरले मोरङको पथरी शनिश्चरे महिला एफसीलाई २–० को गोल अन्तरले पराजित गर्दै अन्तिम दुईमा स्थान पक्का गरेको थियो । धरानले रोयल एफसी दमकलाई टाइब्रेकरमा ३–२ गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो । फाइनलिस्ट दुवै टोलीको समान संयोग के छ भने उनीहरु एकै खेल जितेर फाइनल यात्रामा सहभागी भएका हुन् ।
प्रतियोगितामा ६ टिमको सहभागिता रहको थियो । गुरुङ समुदायको महान चाड तमु ल्होसारको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । फेयर प्ले टिम आयोजक बिर्तामोड फुटबल क्लब भयो ।
बिर्तामोड फुटबल क्लबले आयोजना गरेका प्रतियागिताका विजेता तथा उपविजेतालाई क्लबका अध्यक्ष डिके गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए ।