२०८३ आश्विन १७ गते , शनिबार

बालबालिकालाई फाइजर खोप लगाउन आवश्यक सिरिन्ज मंगलबारसम्म आइपुग्ने

sajilo news
परिवेश मिडिया
२०७८ पौष १५ गते , विहीबार
बालबालिकालाई फाइजर खोप लगाउन आवश्यक सिरिन्ज मंगलबारसम्म आइपुग्ने

काठमाडौं । खोप अभावमा रोकिएको बालबालिकालाई कोरोना विरुद्धको  खोप फाइजर लगाउन सहज हुने भएको छ ।बालबालिकालाई फाइजर खोप लगाउन आश्यक पर्ने सिरिन्ज ६ लाख ६४ हजार ५६० मात्रा आगामी मंगलबारसम्ममा आइपुग्ने भएको छ । सिरिन्ज अभावमा कतिपय जिल्लाहरुमा खोप लगाउन रोकिएको थियो ।

कोभ्याक्स मार्फत शुन्य दशमलब ३ एमएलको ६ लाख ६४ हजार ५६० सिरिन्ज आगामी मंगलबारसम्ममा आउन लागेको स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले जानकारी दिए ।

१२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि फाइजर खोप लगाउन आवश्यक पर्ने शून्य दशमलव ३ एमएलका सिन्जि आउन लागेको डा. मरासिनीले बताए ।

उनका अनुसार फाइजर खोप लगाउन आवश्यक पर्ने घोलक भने आज नेपाल आइपुगेको छ । घोलक भनेको फाइजर खोपलाई पातलो बनाउने सोडियम क्लोराइड मिश्रित तरल पदार्थ हो ।

फाइजर खोपका लागि प्रतिभाइल १.८ मिलिलिटर ०.९ प्रतिशत घोलक हाल्नुपर्ने हुन्छ। यसले खोपको बाक्लोपन केही मात्रा घटाउने, रसायनहरूको सन्तुलन मिलाउने र खोपको प्रभावकारिता बढाउने काम समेत गर्छ ।

१२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउन सूरु गरिएको भएपनि सिरिन्ज अभाव भएपछि खोप अभियान नै स्थगित भएको थियो । मंगलबारदेखि काठमाडौंसहित ८ जिल्लामा फाइजर खोप लगाउने कार्यतालिका बनाइएको थियो । तर सिरिन्ज नहुँदा कार्यक्रम स्थगन भएको थियो ।

कोभ्याक्स मार्फत गत शुक्रबार नेपालमा ६ लाख ६४ हजार ५६० डोज फाइजर खोप आएको थियो। त्यतिबेला नै घोलक र सिरिन्ज नआएका कारण कार्यक्रम केही दिन ढिला हुन पुगेको हो ।

अबको एकसातामा सिरिन्ज आएपछि बालबालिकाका लागि खोप अभियान पुनस् सुरु हुने डा. मरासिनीको भनाइ छ ।

५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउन थप खोप तथा सिरिन्ज आयत गर्न प्रक्रिया पनि अगाडि बढाइसकेको डा. मरासिनीले जानकारी दिए ।

 

सम्बन्धित समाचार