२०८३ आश्विन १७ गते , शनिबार

प्रहरीको मोटरसाइकल लिएर कारागारका नाइके फरार

sajilo news
परिवेश मिडिया
२०७८ पौष १० गते , शनिबार
प्रहरीको मोटरसाइकल लिएर कारागारका नाइके फरार

दाङ । घोराही कारागारका नाइके जयराम परियार प्रहरीको मोटरसाइकल लिएर फरार भएको पाइएको छ । यसअघि प्रहरीले अस्पतालबाट भागेका भनिएका परियार रेष्टुराँबाट नास्ता खाने क्रममा भागेको तथ्य फेला परेको हो ।

परियारलाई प्रहरी जवान धनबहादुर चौधरीले आफ्नै लु ३४ प ४१० नम्बरको मोटरसाइकलमा राखेर उपचार गराउन भनेर बिहीबार बिहान ११ बजेतिर अस्पताल हिँडाएका थिए ।

तर, अस्पताल नपुग्दै उनीहरू रेष्टुँरामा नास्ता खान पसेको र त्यही मौका छोपी परियार प्रहरी जवान चौधरीकै मोटरसाइकल लगेर भागेको जानकारी दिइएको छ ।

घोराहीस्थित प्याडाइज रेष्टुराँमा नास्ता खाने क्रममा परियार भागेको सिसिटिभी फुटेजमा देखिएको छ । प्रहरीले परियार भागेको दृश्य कैद भएको फुटेज लगिसकेको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले फुटेज हेर्दा चरम लापरबाही देखिएको बताए । सरासर अस्पताल नलगेर रेष्टुराँमा नास्ता खान लगिनुले चरम लापरबाही र मिलेमतो स्पष्ट रुपमा देखिन आएको एसपी काफ्लेले टिप्पणी गरे । ‘हामी अनुसन्धान पूरा गरेपछि तथ्य कुरा सार्वजनिक गर्छौं,’ एसपी काफ्लेले भने, ‘दोषी जोकोही भए पनि हामी कसैलाई छोड्दैनौं ।’

कर्तव्य ज्यानमुद्दामा साढे ७ वर्ष कैद भुक्तान गरिसकेका नाइके परियारलाई उपचारका लागि भनेर अस्पताल लैजाँदा हतकडी पनि लगाइएको थिएन ।

यसअघि प्रहरीले अस्पतालबाट परियार भागेको जानकारी दिएको थियो ।

स्रोतका अनुसार कारागारका नाइकेलाई हतकडी लगाउने चलन छैन ।

प्रहरीले शुक्रबार मात्रै परियारले भाग्न प्रयोग गरेको मोटरसाइकल लमही बजारभन्दा केहीमाथि जंगलमा फेला परेको जानकारी दिएको छ ।

प्रहरीले फरार परियारको खोजी तीब्र पारिएको तथा भारत प्रवेश गर्ने नाकाहरू पनि सिल गरिसकेको बताएको छ ।

सम्बन्धित समाचार