तेह्रथुम र संखुवासभाको उच्च पहाडी क्षेत्रमा हिमपातका कारण जनजीवन कष्टकर
तेह्रथुम । शुक्रबार अपरान्हदेखि भइरहेको हिमपातका कारण तेह्रथुम र संखुवासभाको उच्च पहाडी क्षेत्रको जनजीवन कष्टकर बनेको छ । हिमपातका कारण चिसो बढेपछि जनजीवन प्रभावित भएको छ ।
हिमपातका कारण बसन्तपुरको देउरालीबाट ताप्लेजुङको साँघुतर्फ जाने सडक अवरुद्ध भएका कारण दर्जनौं सवारी साधन बाटोमै रोकिएका छन् । बुढाबूढी र बालबालिका घर बाट बाहिर निस्कन सकेका छैनन् । चिसोका कारण बजार क्षेत्रमा मानिसको चहलपहल घटेको स्थानीय छिरिङ शेर्पाले जानकारी दिए ।
मौसममा आएको बदलीसँगै शुक्रबार अपरान्हदेखि तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्र हिउँले ढाकेको छ । तीनजुरे, पाँचपोखरी, गुफापोखरी, मंगलबारे, चौकी, मिल्के लगायतका क्षेत्रमा हिउँ परिरहेकाले सवै सडक अवरुद्ध भएको पाँच पोखरीका होटल व्यवसायी उमेश बुढाथोकीले बताए । गुफाबजार गएर फंर्किदै गरेका उनी हिउँले सडक अवरुद्ध भएपछि बीच बाटो चौकीबजार नजिक रोकिएका छन् ।
सिमसिमपानीसँगै बाक्लो हिउँ परिरहेकाले लेकाली क्षेत्रमा रहेका चौंरी र भेडी गोठ पुरेको आशंका स्थानीयको छ । ‘पुरै जंगल हिउँले सेताम्मे भएको छ’, पाँच पोखरीका मिङ्मा शेर्पाले भने, ‘चरनमा जंगलमा छोडिएका चौंरी, गाई भैंसी र भेडाबाख्रा गोठमा फर्किन सकेका छैनन् ।’ हिउँले गोरेटो बाटोसमेत पुरेकाले पशु चौपाया जंगलमै हराएको उनले बताए ।
जंगलमा रहेका पशु चौपाया बेंसी क्षेत्रमा झार्न नपाउँदै हिमपात भएकाले लेकाली क्षेत्रमा समस्या भएको पशुपालक किसानको भनाइ छ ।