‘सन्थाल’ शब्दको अपव्याख्या गरिएको भन्दै विरोध प्रदर्शन
बिर्तामोड । सन्थाल जातीलाई सतार भनी गलत ब्याख्या गरिएको भन्दै रिलेमाला सन्थाली आख्डा नेपालले आपत्ती जनाउँदै विरोध गरेको छ । रिलेमालाले बुधवार झापाको सदरमुकाम चन्द्रगढीमा विरोध स्वरुप शान्तिपूर्ण ¥याली प्रदर्शन गरेको छ ।
पूर्वको झापा, मोरङ र सुनसरीमा बसोबास रहेका सन्थालहरुले नेपाली शब्द भण्डार लगायत सामान्य ज्ञान, लोक सेवाका सहयोग सामाग्री आदिमा सन्थाल शब्दावलीको गलत व्याख्या गरेको भन्दै त्यसलाई सच्याउनु पर्ने माग राखेका छन् । उनीहरुले नेपाली शब्द भण्डारमा सन्थाल र सतार एउटै हो जसको अर्थ लाजपचेको, नकचरो, लबस्तरो आदि लेखिएको जनाउँदै त्यसलाई सच्याउनु पर्ने माग गरेका छन् ।
चन्द्रगढीको लेखनाथ चोकदेखि जिल्ला प्रशासन कार्यालयसम्म प्ले कार्ड सहित उपस्थित सयौँको संख्यामा रहेका सन्थालहरुले विरोध ¥याली पश्चात प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सीनामार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । आठ सूत्रीय मागसहितको ज्ञापन पत्रमा आफूहरुको जात सन्थाल, भाषा सन्थाली, लिपी ओल चिकी र धर्म सारना हुनुपर्ने, सम्बन्धित निकायले गलत शब्द सतार हटाउनु पर्ने, सन्थाल जातीको बारेमा प्रकाशन हुने विभिन्न पुस्तक पुस्तिकामा पहिचान र अस्तित्व स्पष्ट उल्लेख गर्नु पर्ने रहेको रिलेमालाका सचिव हखन हस्दाले बताए ।
सन्थाल जाती भित्र बेस्रा, मुर्मु, मर्डी, सोरेन, हस्दा, बास्के, हेमरम, चोणे, पौरिया, किस्कु, टुडु र बेदिया हुनुपर्ने, नागरिकता सहज रुपमा पाउनुपर्ने लगायत माग राखेर ज्ञापन पत्र बुझाइएको रिलेमाला सन्थाली आख्डा नेपालका अध्यक्ष श्यामलाल बेस्राले बताए ।
राष्ट्रिय जनगणना २०६८ अनुसार झापा, मोरङ र सुनसरीमा बसोवास रहेको सन्थाल जातीको संख्या ५१ हजार ७ सय ३५ रहेको छ ।