कोरोना विरुद्धको खोप अभियान : ५–११ बर्षका लाई पनि दिने तयारी
काठमाडौँ । कोभिड–१९ विरुद्धको खोप अब ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाले पनि पाउने भएका छन् । सन् २०२२ को मार्चसम्म ११ वर्षमुनिकालाई खोप दिइसक्ने गरी सरकारले तयारी थालेको छ ।
वयस्कका लागि आउने ६० लाख डोज खोप ५ देखि ११ वर्षका बालबालिकालाई दिन मिल्ने गुलाबी (पिंक) खोपमा परिवर्तन गर्न सरकारले मंगलबार फाइजरलाई पत्राचार गरिसकेको प्रधानमन्त्री शेरबहादुर देउवाका स्वास्थ्य सल्लाहकार प्राडा आरपी बिच्छाले जानकारी दिए । यसबारे विश्व बैंकसँग समेत कुराकानी भइसकेको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो ।
मोडर्नाको ४० लाख डोज र कोभाक्स सुविधाबाट आएको खोप ११–१७ वर्षकालाई लगाउन पर्याप्त हुने भएकाले फाइजरको आउन बाँकी ६० लाख डोज ५ देखि ११ वर्षका बालबालिकालाई लगाउन मिल्ने गरी गुलाबी (पिंक) खोपमा रूपान्तरण गर्न नेपालले आग्रह गरेको हो । ‘विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मान्यताप्राप्त खोप बजारमा आएपछि तुरुन्त लगाउने रणनीतिमा पनि हामी काम गरिरहेका छौं,’ डा. बिच्छाले भने, ‘बजारमा आएको एक महिनाभित्र खोप लगाउन सुरु गर्न सक्छौं ।’
प्रधानमन्त्री देउवाले गत सोमबार सातै प्रदेशका मुख्यमन्त्री, सामाजिक विकासमन्त्रीलगायत उच्च अधिकारीसँग गरेको बैठकमा समेत ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि छिटो खोप सुनिश्चित गर्न निर्देशन दिएका थिए ।
सरकारी तथ्याङ्क अनुसार नेपालमा ५–११ वर्ष उमेर समूहका ३९ लाख ९५ हजार ८ सय ८६ जना बालबालिका छन् । ५ प्रतिशत खोप खेर जाने हिसाबले दुई डोजका लागि ८३ लाख ९१ हजार ३ सय १९ डोज आवश्यक हुन्छ । हाल अमेरिका, इजरायल, फ्रान्स, जर्मनी, अस्ट्रिया, स्पेन, डेनमार्क, ग्रिसलगायत मुलुकले ५ देखि ११ वर्षका बालबालिकालाई फाइजर खोप दिइसकेका छन् ।
पछिल्लो समय देखिँदै गएको कोरोनाको परिवर्तित स्वरुपले सबै उमेर समूहका मानिसलाई संक्रमण हुने देखिएपछि बालबालिकालाई समेत खोप दिने गरी सरकारले तयारी थालेको हो ।