कालिकोटे खड्काहरुको देवाली पूजा आज
बिर्तामोड । कालिकोटे खड्काहरुको कुल पूजा (देवाली) आज हुने भएको छ । धान्य पूर्णिमाको अवसरमा आज कुल पूजा गर्न लागिएको हो ।
मेचीनगर १२ धाइजनमा रहेको कुल मन्दिरमा पूजा सम्पन्न हुने कालिकोटे खड्का वंशोत्थान जिल्ला कार्य समिति झापाका सचिव कल्याण खड्काले जानकारी दिए । प्रत्येक तीन बर्षमा गर्ने गरिएको पूजा गत बर्ष कोरोना संक्रमणका कारण यता धकेलिएको उनले बताए । उक्त मन्दिरमा भारतको सिलिगुडी, सिक्किम, आसाम तथा नेपालको इलाम, झापालगायतका कालिकोटे खड्काहरुले देवाली गर्दै आएका छन् ।
कुल पूजाका लागि धाइजनमा रहेको साढे दुई कठ्ठा जग्गामा कालिकोटे खड्का बंशोत्थान समिती झापाले कुल मन्दिर निर्माण गरेको छ । समितिले कुल मन्दिरसगैँ विन्ध्यवासिनी मन्दिर र सभाहल सहितको भवन समेत निर्माण गरिरहेको समितिका अध्यक्ष दिलबहादुर खड्काले जानकारी दिए ।
मन्दिर निर्माणका लागि समितिले छ धुर जग्गा खरिद गरेको र बाँकी जमिन स्थानीय स्वर्गीय गंगाबहादुर खड्का र डम्बरकुमारी खड्काले निशुल्क प्रदान गरेको लेखा समिती संयोजक भेषराज खड्काले जानकारी दिए ।
समितिले उक्त जग्गामा कम्पाउण्ड निर्माणको काम सकेको छ भने बिन्ध्यवासिनीको मन्दिर र सभाहल निर्माणको क्रममा रहेको समितिका अध्यक्ष खड्काले बताए । संरचना निर्माणका लागि संस्थाका संरक्षक बिर्तामोडस्थित खड्का कम्प्लेक्सका संचालक रतनबहादुर खड्काले करिब १६ लाख रुपैँया सहयोग उपलब्ध गराएको अध्यक्ष दिलबहादुरले जानकारी दिए । सिलिगुडी निवासी सन्तोष खड्काले सहयोग स्वरुप पाँच लाख उपलब्ध गराएको सचिव कल्याण खड्काले बताए ।
तीन तलाको भवन निर्माण गर्ने जहाँ पहिलो तलामा हल र माथिका तलाहरुमा कोठा निर्माण गरिने समितिले जनाएको छ । निर्माणाधीन बिन्ध्यवासिनीको मन्दिर र भवन निर्माणका लागि सम्पुर्ण बन्धु, स्थानीयपालिका तथा सहयोगी संघसंस्थाहरुलाई सहयोगको अपिल गरिएको सचिव कल्याण खड्काको भनाई छ । सहयोग गर्न इच्छुकहरुलाई कालिकोटे खड्का बंशोत्थान समितिको नाममा नेपाल बैंक धुलाबारीमा रहेको खाता नम्बर ०५५००१०६४१२१११०००००१ मा सहयोग गर्न सकिने समितिले जनाएको छ ।