इलामका क्यान्सर पिडित राईद्वारा सहयोगको अपिल
इलाम । इलाम नगरपालिका वडा नं. ६ चुरेघाँटी निवासी क्यान्सर रोगले पिडित ३२ वर्षीय मदनकुमार राईले सहयोगको अपिल गरेका छन् । घरायसी आर्थिक अवस्था समेत कमजोर रहेको र उपचारमा ठूलो रकम लाग्ने भएकाले उनले सहयोगको याचना गरेका हुन् ।
सवारी चलाएर जीविकोपार्जन गरिरहेका मदनको हाल विपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । ११ वर्षका छोरा र ७ वर्षीया छोरीसँग बस्दै आएका उनको उपचारमा हालसम्म ६ लाख रुपैयाँ खर्च लागेको श्रीमती सुजता राईले बताइन् । थप उपचारका लागि आर्थिक अभाव भएको उनको भनाई छ ।
मदनको उपचारमा खर्च अभाव हुन नदिनका लागि सहयोग संकलन भइरहेको पूर्वेली जीप तथा ट्याक्सी यातायात प्रालि बिब्ल्याँटे इलामका अध्यक्ष रोशन श्रेष्ठले बताए । प्राइम बैंक बिब्ल्याँटे शाखामा रहेको खाता नम्बर १०१००६९६SA मा सहयोग रकम जम्मा गरेर मदनको जीवन रक्षाका लागि सहयोग गर्न परिवारले अनुरोध गरेको छ । इसेवाको ९८५२६८०२२० मार्फत पनि सहयोग गर्न सकिने छ । मदनको उपचारका लागि विभिन्न ब्यक्तिहरुबाट सहयोग उठिरहेको र हालसम्म ७५ हजार रुपैयाँ संकलन भएको यातायात प्रालिका बिब्ल्याँटेका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।